मकवानपुरको कैलाश गाउँपालिका ६ का वडाध्यक्ष रामबहादुर गोम्बामाथि ३ जनालाई कुटेको आरोप लागेको छ । गैरीगाउँ–गोगने–पकनी–बैकुण्ठ सडकमा माटो फालेको भन्दै वडा नम्बर ५ का ३ जनालाई कुटेका गाउँलेले बताएका छन् ।
वडा नम्वर–५ का बासिन्दा कुमार ढकालको जग्गामा पर्ने सडक फराकिलो बनाउने क्रममा आलो माटोमा बिहीबार गाडी फसेका थिए । यहि विषयलाई लिएर उनले ढकाल र उनका छोरा मनोजलाई हातपात गरेको स्थानीयबासिन्दाले बताएका छन् ।
वडाध्यक्ष गोम्बाले बाटोमा माटो हालेको बिषयमा विवाद भएको र धकेलाधकेल भएको तर आफूले हातपात नगरेको बताएका छन् । आफ्नो वडातर्फ जाने गाडीहरु हिलो माटोमा फसेर रोकिएपछि स्थानीयबासिन्दाको आग्रहमा आफू त्यहाँ हेर्न गएको उनले बताए । उनले भने, ‘सार्वजनिक बाटोमा किन माटो हालेको भन्दा स्थानीयहरुले मलाई अभद्र व्यवहार गर्नुभयो ।’ यस विषयमा आफूले पनि कानूनी उपचार खोज्ने वडाध्यक्ष गोम्बाले बताए ।