२०८१ जेठ ८, मंगलबार    

एमसीसी पास गर्नुपर्ने कांग्रेसको निष्कर्ष

२०७८ माघ २७, बिहीबार १८:१२ बजे

हेटौंडा/ सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

पार्टी पार्टी कार्यालय सानेपामा जारी बैठकमा गठबन्धन रहे पनि नरहेपनि एमसीसी पास गर्नुपर्ने निष्कर्ष निकालिएको केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री शशांक कोइरालाले जानकारी दिए । बिहीबारको बैठकबाट बाहिरिँदै नेता कोइरालाले भने, 'बैठकमा एमसीसीका विषयमा छलफल भयो । एमसीसी पारित गर्नुपर्छ भन्ने निष्कर्ष छ ।'

उनका अनुसार बैठकमा सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनभित्र एमसीसीबारे भइरहेको छलफल जानकारी गराएर केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री रामशरण महतलाई एमसीसीको विषयमा बोल्न समय दिएका थिए । महतको व्याख्यापछि देउवाले एमसीसीका विषयमा राम्रा-नराम्रा विवरण आफूलाई दिन महतलाई आग्रह गरेका केन्द्रीय सदस्य कोइरालाले जानकारी गराएका छन् । उनका अनुसार अमेरिकाले अनुदान दिन लागेको भन्दै सभापति देउवाले यसमा धेरै विवादित र विभाजित हुनुपर्ने आवश्यक नभएको र नेपालको हितमा रहेको बताएका थिए । 

सभामुखले रोक्न मिल्दैन स् कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीसी र सरकारी विधेयकहरु सभामुखले रोक्न नमिल्ने बताएका छन् । केन्द्रीय कार्यसम्पादन समितिको सानेपामा बिहीबार बसेको बैठकपछि प्रवक्ता महतले सभामुखले आफ्नो दायित्व निर्वा गर्नुपर्ने र सरकारले पठाएका विधेयकहरु रोक्न नमिल्ने बताएका हुन् । 'सभामुखको काम नै सरकारले पठाएका विधेयकहरु सदनमा टेबल गर्ने हो, त्यहाँ छलफल गराउने हो, एमसीसी पनि रोक्न पाउनुहुन्न, प्रवेश नै नगराएपछि के हो, के हो भन्ने अन्य‍ोल बढ्यो, त्यसले यसलाई धेरैले अन्योलमा राख्नुहुन्न, संसद्‌मा छलफल गराउनुपर्छ', महतले भने ।

एमसीसी पारित गर्नुपर्ने बैठकको निष्कर्ष रहेको महतले सुनाए । उनले भने 'एमसीसीको बारेमा पनि छलफल भएको छ । अन्योल समाप्त गरेर संसदीय प्रक्रिया अगाडि बढाउनुपर्छ । संसद्‌मा एमसीसी लानुपर्छ भन्ने निष्कर्ष रहेको छ ।' सत्ता गठबन्धनमा मतभेद कायम रहँदा एमसीसी अनुमोदन प्रक्रिया अघि बढ्न सकेको छैन ।

बैठकमा स्थानीय निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउने, भ्रातृसंस्था र शुभेच्छुक संस्थाको म्याद सकिएको र रिक्त रहेकोमा के गर्ने भन्नेमा छलफल भएको प्रवक्ता महतले बताए । उनका अनुसार बैठक शुक्रबार दिउँसो २ बजे बस्ने गरी सकिएको छ ।