२०८१ बैशाख १५, शनिबार    

सभामुख चयन गर्न आज मतदान

२०७९ पौष २९, शुक्रबार ०८:२७ बजे

वाग्मती प्रदेशमा सभामुख चयन गर्न आज मतदान हुँदैछ । विहान ११ बजे बस्ने प्रदेशसभाको वैठकमा सभामुख चयनका लागि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभामुखका लागि तीजनाको उम्मेदवारी परेपनि मतदान हुने निश्चित भएको हो । सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महासचिव भुवन पाठक, नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मनदुर किसान पार्टीकी सिर्जना सैंजुले सभामुख पदका लागि प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम ७ को उपनियम २ बमोजिम मनोनयन दर्ता गराएका हुन् । सभामुखका उम्मेदवार तीनैजना समानुपातिक सांसद हुन् ।

कुल ११० सदस्यीय प्रदेशसभामा पाठकलाई सत्ता गठबन्धनका ७० सांसदको साथ रहेको छ । अधिकारीलाई नेपाली कांग्रेसको ३७ सांसदको साथ रहेको छ । नेमकिपाका ३ सांसद प्रदेशसभामा रहेका छन् ।

सत्तारुढ दलको केन्द्रीय भागबण्डाअनुसार मुख्यमन्त्री माओवादी केन्द्रले, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउनेछन् । उपसभामुख चयन प्रक्रियाको भने अझै टुंगो लागेको छैन । सभामुखको निर्वाचनपश्चात् उपसभामखुको चयनको प्रक्रिया अगाडि बढाउने प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सदनबाट विश्वासको मत लिनु अगाडि यस विषय टुंग्याइसक्ने बुझिएको छ । उनले पुस ३ गते विश्वासको मत लिँदैछन् ।