२०८१ बैशाख २२, शनिबार    

प्रदेशका १३ वटा अस्पतालमा बेड निःशुल्क

२०८० भाद्र १, शुक्रबार १८:०५ बजे

वाग्मती प्रदेश सरकारमातहतका १३ वटा सरकारी अस्पतालमा भदौ १ गते अर्थात शुक्रबारदेखि सामान्य शय्या(जनरल बेड)  सेवा निःशुल्क सुरु भएको छ । वाग्मती प्रदेश, स्वास्थ्य मन्त्रालयले साउन २२ गते निर्णय गरेर अस्पतालमा जनरल बेड सेवाग्राहीलाई निःशुल्क उपलब्ध गराउन परिपत्र गरेको छ ।

परिपत्रमा सरकारी अस्पतालमा उपलब्ध रहेको बेडमध्येबाट क्याबिन, एनआईसीयू र आईसीयूबाहेकका अन्य सम्पूर्ण बेड निःशुल्क प्रदान गर्न भनिएको छ ।

निजी,सरकारी, सहकारी र सामुदायिक अस्पतालहरूमा सामाजिक सेवा इकाई स्थापना गरी असहाय, अपांग वर्ग ‘क’ र ‘ख’, विपन्न, बेवारिसे बिरामीहरूको उपचार व्यवस्थित गर्न पनि निर्देशन गरिएको प्रदेश स्वास्थ्य मन्त्रालयका निमित्त सचिव दीपकबाबु तिवारीले बताए । मन्त्रालयले अस्पतालहरूलाई सामाजिक सेवा इकाईबाट पुनर्बास सेवा र फिजियोथेरापी सेवा पनि बिरामीलाई निःशुल्क उपलब्ध गराउन भनेको छ ।

वाग्मती प्रदेश सरकारमातहतको त्रिशूली अस्पताल, भक्तपुर अस्पताल, हेटौंडा अस्पताल, रसुवा अस्पताल, जिल्ला अस्पताल रामेछाप, चौतारा अस्पताल, सिन्धुली अस्पताल, बकुलर रत्ननगर अस्पताल, टोखा अस्पताल, बज्रवाराही चापागाउँ अस्पताल, मेथिनकोट अस्पताल र चरिकोट अस्पताल रहेका छन् ।

यी १३ वटा अस्पतालमा ८ सय ११ वटा सामान्य बेड रहेका छन् । यी अस्पतालहरूमा शुक्रबारदेखि सामान्य बेड बिरामीलाई निःशुल्क उपलपब्ध गराइने छ । अस्पतालहरू लेसामान्य बेडको शुल्क २५ रुपैयाँदेखि सय रुपैयाँसम्म लिँदै आएका थिए ।