२०८१ बैशाख ८, शनिबार    

प्रदेशसभाको वर्षे अधिवेशन आजबाट, पाँचवटा अध्यादेश पेशहुँदै

२०७९ जेठ १३, शुक्रबार १०:५३ बजे

वाग्मती प्रदेशसभाको वर्षे अधिवेशन आजबाट सुरु हुँदैछ ।

विहान ११ बजेबाट सुरु हुने वैठकमा ५ वटा अध्यादेश पेश हुने कार्यसूची रहेको छ । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको वैठकले दशौं अधिवेशनको पहिलो बैठकमा ५ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय गरेको कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले जानकारी दिए ।
कार्यसूची अनुसार प्रदेशसभामा आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद खनालले विभुषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेश गर्नेछन् ।

युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्ने भएका छन् । प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ पनि संसदमा पेश हुने भएको छ । यी अध्यादेशहरु संसद सञ्चालन नभएको समयमा प्रदेश सरकारले ल्याएको थियो ।

आजैको वैठकमा राजनीतिक दलका प्रतिनिधिहरुले अधिवेशन सफलताका शुभकामना व्यक्त गर्नेछन् ।