२०८१ जेठ ४, शुक्रबार    

संसदीय समिति सभापतिमा एमालेको मात्र उम्मेदवारी, हार निश्चित भएसँगै गठबन्धन मौन

२०७८ माघ १६, आईतबार १७:२७ बजे

हेटौंडा/ वाग्मती प्रदेश सभाअन्तर्गत् सोमबार हुने दुईवटा समितिको सभापति छनौटका लागि हुने  निर्वाचन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मात्र उम्मेदवारी दर्ता गराएको छ ।

प्रदेश सभाअन्तर्गत् रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनौट गर्न निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार आइतबार उम्मेदवारी ५ बजेसम्म दर्ता गर्नुपर्ने थियो । तोकिएको समयमा एमालेले मात्र उम्मेदवारी दर्ता गराएको छ । एमालेको बहुमत रहेका कारण सत्तारुढ गठबन्धनले उम्मेदवार नै दर्ता नगराएको हो । एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई उम्मेदवार बनाएको छ ।

वैशाखदेखि रिक्त रहेको अर्थसमितिमा २० जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछ । अर्थ समितिका तत्कालिन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री वनेसँगै उक्त पद रिक्त रहेको थियो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त छ ।

प्रदेश सभाका सचिव कृष्णहरि खड्काका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको छ । अर्थ समितिको सभापति पदको निर्वाचन सोमबार मध्यान्ह १२ बजेका लागि तय गरिएको छ । शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचन सोमबार दिनको २ बजेका लागि तय गरिएको छ । दुवै समूहमा एमालेको मात्र उपस्थिति रहने भएपछि जित सुनिश्चित देखिएको छ ।

सत्तारुढ गठबन्धनका एक नेताका अनुसार सत्तापक्ष निर्वाचन कार्यक्रममै अनुपस्थित हुने भएको छ । निर्वाचनको विषयमा गठबन्धनमा कुनै छलफल नै भएको छैन । उक्त समितिमा रहेका सदस्यहरुलाई पनि केही वास्ता नगरेका कारण निर्वाचन प्रक्रियामै सहभागी नभएको जनाइएको छ ।