२०८१ बैशाख १६, आईतबार    

शनिबार रेडियो मकवानपुरको जागरुक महिला सम्मान

२०८० भाद्र २८, बिहीबार १९:०० बजे

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जले हिन्दु महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा यस वर्ष पनि दुईजनालाई जागरुक महिला सम्मान प्रदान गर्ने भएको छ ।

रेडियोले स्थापनाकालदेखि नै तीजको अवसरमा जागरुक महिला सम्मान कार्यक्रमको आयोजना गर्दै आएको छ । यही भदौ ३० गते शनिबार हेटौंडा ५ स्थित जय गणेश पार्टी प्यालेसमा लक्की ज्वेलर्ससँगको सहकार्यमा तीज विशेष कार्यक्रमको आयोजना गर्न लागिएको रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए ।

विशेष सांस्कृतिक कार्यक्रमकाबीच दुई महिलालाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरिनेछ । रेडियो मकवानपुरका संरक्षक नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको तयारी पूरा भएको अध्यक्ष पराजुलीले बताए । रेडियोले स्थापनाकाल देखि नै तीजको अवसरमा दुईजना महिलालाई जागरुक महिला सम्मान र वार्षिकोत्सवको अवसरमा दुईजनालाई सामुदायिक सम्मान प्रदान गर्दै आएको छ । शनिबार हुने कार्यक्रमा उपस्थितीका लागि रेडियो मकवानपुरले सम्पूर्ण स्रोता, विज्ञापनदाता लगायतले अनुरोध समेत गरेको छ ।

लक्की ज्वेलर्स हेटौंडाका सञ्चालक अनिकेत ठाकुरले गत वर्षहरुमा झैं यस वर्षपनि रेडियो मकवानपुरसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा सहभागी तीनजना महिलाले लक्की ज्वेलर्सको तर्फबाट लक्की ड्रमार्फत सुनचाँदीका गरगहना पाउनेछन् । उनले शनिबार बिहान ११ बजेबाट हुने कार्यक्रमका उपस्थितीका लागि सबैलाई अनुरोध समेत गरे ।