२०८१ बैशाख १४, शुक्रबार    

मकवानपुरमा एक्लियो एमाले, गठबन्धनको शक्ति परीक्षण हुने

२०७८ चैत्र १८, शुक्रबार १८:१७ बजे

नेकपा एमाले मकवानपुरको ठूलो दल हो । पार्टी विभाजनको पीडा भोगेको एमाले अहिले स्थानीय तह निर्वाचनको आन्तरिक तयारीमा जुटेको छ । आन्तरिकरुपमा सुस्त गतिमा वैशाख ३० गतेका स्थानीय तह निर्वाचनमा जुटेको एमालेविरुद्ध जिल्लाका सत्तारुढ गठबन्धन एक ढिक्का भएर निर्वाचनमा होमिने भएका छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले मकवानपुरमा ६ वटा स्थानीय तहमा विजयी भएको थियो । कांग्रेस र माओवादीले २/२ वटा स्थानीय तह जितेका थिए । एमालेले पार्टी विभाजनको असर नपरेको दावी गरेपनि नेकपा (एकीकृत समाजवादी) को वडा तहैसम्म संरचना निर्माण भएको छ । एमालेबाट विभाजन भएको निर्माण भएको नेकपा (एस), नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले एक भएर वडा तहबाटै गठबन्धन गर्ने सहमति गरेसँगै मकवानपुरे राजनीतिमा एमाले एक्लिएको हो ।
अघिल्लो स्थानीय तह निर्वाचन र अहिलेको अवस्था फरक छ । एमालेले मकवानपुरमा पुन: ठूलो दल बन्ने दावी गरेपनि सत्तारुढ गठबन्धनले कडाईपूर्वक सहमति पालना गरेको खण्डमा उसलाई आगामी निर्वाचन जित्नु फलामको चिउरा चपाउनु सरह हुने देखिन्छ ।

सत्तारुढ गठबन्धन एउटै कित्तामा उभिएसँगै एक्लिएको एमालेले मकवानपुरमा राप्रपासँग तालमेल गर्ने सम्भावना पनि रहेको छ । तर, भर्खरैमात्र राप्रपा पनि दुई कित्तामा विभाजन भएको छ । जसको कारणले गर्दा दुवै पक्षलाई मिलाएर लैजान एमालेलाई गाह्रो पर्ने देखिन्छ ।

‘हामी एक्लै निर्वाचनमा जान्छौं । हामीविरुद्ध पहिला पनि गठबन्धन भएको हो । केही फरक पर्दैन । हामी चुनाव जित्छौं ।’, नेकपा एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले पार्टीले यसै महिनाभित्र उम्मेदवार टुंग्याउने र वैशाख पहिलो हप्ताबाट घरदैलो अभियानमा जुट्ने तयारी गरिरहेको बताए । उनले पार्टी फुटको असर नपरेको बताए । ‘हाम्रो पार्टीमा अन्य दलबाट समेत जनता आइरहेका छन् । पार्टी फुटको पूर्ति हामीले त्यहीबाट गर्नेछौं ।’, उनले भने ।

पछिल्लो समय मकवानपुरको राजनीतिमा नेपाली कांग्रेसको प्रभाव केही बढेको विश्लेषण सर्वत्र हुने गरेको छ । एमालेको शक्ति केही कमजोर भएको देखिएपनि संगठित कार्यकर्ताको बलमा उसलाई अगाडि बढ्नबाट रोक्न अन्य दलहरुलाई हम्मेहम्मे नै पर्ने देखिन्छ । एमाले विभाजन भएसागै कैलाश र इन्द्रसरोबर गाउँपालिकामा तत्कालिन समयमा विजयी भएका गाउापालिका प्रमुख क्रमश: टंक मोक्तान र जीवन लामा अहिले नेकपा (एस) मा छन् । उनीहरुको शक्ति परीक्षण पनि यसै निर्वाचनमार्फत् हुने प्राय: निश्चित छ ।

स्थानीय निर्वाचनमा वाग्मती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिका सवैको नजरमा पर्ने निश्चित छ । किनभने अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका तत्कालिन उम्मेदवार आनन्दराम पराजुली थोरै मतान्तरले पराजित भएका थिए । एमालेका हरिबहादुर महत विजयी भएपनि उनले सार्वजनिक कार्यक्रममै प्राविधिक कारणले आफू विजयी भएपनि मतभने पराजुलीले धेरै प्राप्त गरेको बताएका थिए । उक्त समयमा कांग्रेसले प्राप्त गरेका करिव सात हजार मत बदरहुँदा एमाले करिब ६ सय मतअन्तरमा विजयी भएको थियो ।

जिल्लाका राजनीतिक दलहरु अब कसरी अगाडि बढ्छन् ? चुनावी तालमेल के हुन्छ र कस्ता उम्मेदवारलाई दलले टिकट दिनेछन् त्यो हेर्न भने केही समय अझै कुर्नुपर्ने हुन्छ ।