२०८१ बैशाख ७, शुक्रबार    

संसदीय निर्वाचन : गठबन्धनको अगाडि चल्ला त एमालेको जादु ?

२०७९ जेठ ३१, मंगलबार १९:३४ बजे

स्थानीय तहको निर्वाचन सकिएको एक महिना मात्र वितेको छ । तर, निर्वाचन आयोग नेपालले आगामी मंसिरको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको छ । औपचारिकरुपमा मंगलबार आयोगले पत्रकार सम्मेलन गरी प्रदेश र संघको निर्वाचनको आन्तरिक तयारी थालेको बताएको हो ।

स्थानीय तहको निर्वाचनको मत परिणामको ह्याङ नहट्दै अर्को निर्वाचनको मिति तोकिने सुरसार हुँदा पुन: देश निर्वाचनमय बन्ने पक्का छ । आयोगले निर्वाचनको मिति तोक्ने आन्तरिक गृहकार्य र मतदाता नामावली संकलनको समय तोकिएसँगै देशमा विस्तारै चुनावी माहौल तयार हुने प्राय: निश्चित छ । हाल संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो बजेट क्रमश : ल्याइरहेका छन् । उक्त बजेटमा पनि चुनावी गन्ध आइरहेको छ ।

देशमा रहेको सत्तारुढ गठबन्धन र प्रतिपक्षी नेकपा एमालेवीचको लडाईंको रुपमा आगामी निर्वाचनलाई लिइएको छ । त्यसको प्रत्यक्ष असर मकवानवानपुरमा पनि पर्ने निश्चित नै छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले जिल्लाको दशवटा स्थानीय तहमध्ये आठवटामा बाजी मारेको थियो । भीमफेदी र इन्द्रसरोबरमा गठबन्धनलाई तोड्दै एमालेले थोरै मतान्तरले विजयी भएको हो ।

स्थानीय तहको मत परिणाम हेर्दा जिल्लाको दुईवटा संघीय क्षेत्र र चारवटा प्रदेशमा सत्तारुढ गठबन्धन हावी हुने लगभग निश्चित छ । तर, निर्वाचनको मितिसम्म गठबन्धनको अवस्था कस्तो रहन्छ त्यो भने हेर्न बाँकी नै छ ।

अघिल्लो पटक बाम एकताहुँदा दुईवटा संघीय क्षेत्र र तीनवटा प्रदेशमा नेपाली कांग्रेस नमाज्जाले पराजित भएको थियो । तत्कालिन समयमा नेपाली कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले प्रदेशको एउटा क्षेत्रमा जित्दै लोकतान्त्रिक गठबन्धनका कार्यकर्तालाई राजनीतिकरुपमा शीर ठाडो पार्ने अवसर प्रदान गरेका थिए ।

मकवानपुरको सन्दर्भमा स्थानीय तहमा सत्तारुढ गठबन्धनले प्राप्त गरेको मत जोड्दा कुनै पनि क्षेत्रमा नेकपा एमालेले जित्ने देखिँदैन । स्थानीय तहको निर्वाचनमा एमाले पराजित भएसँगै कार्यकर्तामा चरम निराशा देखिन्छ । एमालेभित्र जिल्लामा पार्टीभित्रको आन्तरिक कलह अझै चुलिँदो अवस्थामा छ । यस्तो अवस्थामा हुन लागेको आगामी निर्वाचनमा एमालेको जादु चल्छ कि चल्दैन त्यो हेर्न भने अन्तिम मतपरिणाम कुर्नैपर्ने हुन्छ ।

देश संघीय गणतन्त्रमा गएसँगै २०६४ सालमा भएको निर्वाचनमा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा माओवादी विजयी भएको थियो । २०७० को निर्वाचनमा ३ क्षेत्रमा एमाले विजयीहुँदा १ क्षेत्रमा कांग्रेस विजयी भएको हो । यसपटकको अन्तिम परिणाम सार्वजनिकहुँदा मकवानपुरमा एमालेले कति सिटमा विजयी हासिल गर्ला भन्ने अहिलेको सवैभन्दा बढी चर्चाको विषय हो ।

पछिल्लो समय मकवानपुरमा एमालेप्रति क्रेज घट्दो अवस्थामा रहेको छ । पार्टी विभाजनको असर र स्थानीय तहको निर्वाचनपश्चात् नेतादेखि कार्यकर्ताको स्तरसम्म एमालेभित्र व्याकपक मतभेद छ । यस्तो अवस्थामा हुने निर्वाचनमा एमालेलाई थप सकस हुने पक्कापक्की छ ।
मकवानपुरमा राप्रपा र एमालेवीच तालमेल हुने बजार हल्ला पनि चल्न थालेको छ । स्थानीय तहमा राप्रपा नेपालले पूर्णरुपमा एमालेलाई समर्थन गरेको थियो । मकवानपुरमा संगठनको हिसावले राप्रपा नेपालभन्दा राप्रपा वलियो देखिन्छ । स्थानीय तहको निर्वाचनले पनि त्यो पुष्टि गरिसक्यो । जसको कारणले गर्दा एमालेले कुन राप्रपासँग तालमेल गर्छ त्यो अहिलेका लागि चाखको विषय हो ।

यसअघिको निर्वाचनसम्म एमालेले मकवानपुरलाई आफ्नो लालकिल्लाको रुपमा परिभाषित गर्ने गरेको थियो । निर्वाचनमा उठ्न एमालेभित्र नेतावीच व्याकप प्रतिस्पर्धा हुने गरेको भएपनि स्थानीय तहको पराजयसँगै संघ र प्रदेशमा उम्मेदवार बन्नका लागि जिल्लामा हालसम्म कुनै पनि नेताले चासो र इच्छा सार्वजनिक रुपमा व्यक्त गरेका छैनन् ।

सत्तारुढ गठबन्धनभित्र पनि को उम्मेदवार बन्ने भनेर व्यापक मदभेद रहेको छ । जिल्लामा कांग्रेस, समाजवादी र माओवादीका नेताहरुले संघ र प्रदेश दुवै तहमा दावी गरिरहेको अवस्थामा टिकट वितरण र कार्यकर्ताको चित्त बुझाउन गठबन्धनलाई सहज भने पक्कै छैन ।