२०८१ बैशाख ८, शनिबार    

वाग्मती सरकारको गाडी मोह, वर्षेनी खर्च बढ्दो

२०७९ श्रावण ५, बिहीबार १०:३० बजे

वाग्मती प्रदेशमा सवारी साधानमा गरिने खर्च वर्षेनी बढिरहेको छ । प्रदेश सरकार स्थापना भएदेखि चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ महिनासम्ममा प्रदेश सरकारले सवारी साधन खरिद, मर्मत र इन्धनमा गरी १ अर्ब २० करोड ३२ लाख २४ हजार रुपैयाँ खर्च गरेको छ ।

देशमा वित्तिय संघीयता सुरु भएदेखि चालु आवको जेठसम्ममा ९५ करोड ८५ लाख ३३ हजार रुपैयाँ बराबरको सवारी वाग्मती सरकारले खरिद गरेको छ । सवारी मर्मतमा यस अवधिमा २२ करोड १५ लाख ५२ हजार रुपैयाँ र इनधनमा २ करोड ३१ लख ३९ हजार रुपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार प्रदेश सरकारल आर्थिक वर्ष २०७५/०७६ मा २६ करोड ४७ लाख ८३ हजार रुपैयाँ बराबरको सवारी खरिद गरेको थियो । प्रदेश सरकारले आव ०७६/७७ मा ३१ करोड १४ लाख ४१ हजार रुपैयाँ र अर्को आर्थिक वर्षमा १६ करोड २९ लाख ७ हजार रुपैयाँ सवारी साधन शीर्षकमा खर्च गरेको हो । चालु आर्थिक वर्षमा ७ वटा मन्त्रालयलाई विभाजन गरी क्रमश: ८ र १४ बनाउँदा सवारी साधन खरिदमा धेरै खर्च भएको देखिन्छ । प्रदेश सरकारले मन्त्री, राज्यमन्त्री तथा मन्त्रालयका सचिव र महाशाखा प्रमुखहरुका लागि चालु आवमा २१ करोड ९५ लाख र २ हजार रुपैयाँ बराबरको सवारी साधान गरिद गरेको कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

सवारी साधन मर्मत खर्च पनि वर्षेनी बढिरहेको तथ्यांकले देखाएको छ । आव २०७५/०७६ मा ३ करोड ९९लाख ५२ हजार रुपैयाँ सवारी साधन मर्मतमा प्रदेशले खर्चिएको थियो । आव ०७६/७७ मा ५ करोड ४० लाख ५८ हजार रुपैयाँ र अर्को आर्थिक वर्षमा ६ करोड ८८ लाख ७ हजार रुपैयाँ सवारीसाधन मर्मत शीर्षकमा वाग्मती प्रदेश सरकारले खर्च गरेको छ । चालु आर्थिक वर्षको अझै एक महिनाको खर्च विवरण प्राप्त हुन बाँकी रहँदा ५ करोड ८६ लाख ८७ हजार रुपैयाँ सवारी मर्मतमा खर्च भइसकेको छ । ‘सवारी मर्मतमा वर्षेनी खर्च बढ्ने देखिन्छ ।’, उपाध्यायले भने,‘सवारी साधन खरिद र मर्मत बढ्दो इन्धनको प्रयोग बढ्नु पनि स्वभाविक नै हो ।’

प्रदेशले ०७५/०७६ मा १ करोड ६८ लाख ६१ हजार, ०७६/०७७ मा ३६ लाख ९० हजार, ०७७/०७८ मा ४५ लाख ९८ हजार रुपैयाँ इन्धन शीर्षकमा खर्च गरेको थियो । चालु आवमा ७९ लाख ९० हजार रुपैयाँ बराबरको इन्धन प्रदेश सरकारले प्रयोग गरिसकेको छ । ‘इन्धनको खर्च अझै बढ्छ । असारमा योजना अनुगमन हुनेहुँदा इन्धनको प्रयोग अन्य समयको तुलनामा बढी नै हुन्छ ।’, उपाध्यायले प्रदेश सरकारको संरचनाको विकास पूर्णरुपमा भएपछि सवारी साधन मर्मत र इन्धनमा वर्षेनी खर्च बढ्दै जाने दावी गरे ।

चालु वर्षमा २७ करोड ६४ लाख २० हजार रुपैयाँको गाडी किन्ने योजना बनाइएको छ । प्रदेश सरकारले मर्मतसम्भारका लागि भने ७३ करोड ८५ लाख ५७ हजार रुपैयाँ छुट्याएको छ । वाग्मती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले मन्त्रालय र प्रादेशिक संरचना बढेसँगै सवारीसाधनको खर्च बढ्नु स्वाभाविक भएको बताए । उनले सवारीसाधनमा बर्सेनि बढ्दो खर्च नियन्त्रण गर्न सरकारले अध्ययन सुरु गरिसकेको जानकारी दिए । ‘धेरै मन्त्रालयले चालु वर्षमा नयाँ सवारी नकिन्ने भनेका छन् । बजेट पनि त्यहीअनुसार बनाएका छौं,’ उनले भने ।