२०८१ बैशाख १७, सोमबार    

वाग्मती प्रदेशमा पूरक बजेट ल्याउन एमालेको माग

२०८० फाल्गुन १५, मंगलबार १८:१८ बजे

वाग्मती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय नेता जगनाथ थपलियाले पूरक बजेट ल्याउन माग गरेका छन् ।

मंगलबारबाट सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनमा शुभकामना व्यक्त गर्दै थपलियाले सरकार र प्रतिपक्षी दलबीच विभिन्न समयमा भएको सम्झौता कार्यान्वयन गर्नका लागि पूरक बजेट तत्काल ल्याउनुपर्ने बताएका हुन् ।

‘पूरक बजेट ल्याएर चालु आर्थिक वर्षको बजेटमा भएको कमीकमजोरी सच्याउन जरुरी रहेको छ । पूरक बजेटले सत्ता–प्रतिपक्षी दुवैलाई फाइदा रहेको छ ।’ उनले चालु आव २०८०/०८१ को बजेट सन्तुलित नभएको र मन्त्रीमुखी भएको आरोप लगाएका थिए ।

‘गत वर्षको बजेटमा असमानता भएपश्चात् सरकारले हामीसँग सम्झौता गरेको छ । बजेटको सन्दर्भमा सांसदलाई दुर्व्यवहार भएको छ । सत्तापक्षले राजनीतिक बेइमानी गरेको छ ।’ उनले प्रतिपक्षीलाई कमजोर नठान्न समेत आग्रह गरे ।

‘सदनलाई सहजरुपमा सञ्चालन गर्न हाम्रो अरु कुनै माग छैन । राजनीतिक बेमाइन सच्याइयोस् भन्ने मात्र हो ।’ उनले सात महिना अगाडि सरकारले आफूहरुसँग गरेको सम्झौता तत्काल कार्यान्वयन हुनुपर्नेमा पटक/पटक दोहोर्‍याए । सरकारले विविध शीर्षकमा रहेको बजेटमा विपक्षीको योजना समेट्ने प्रतिबद्धता यसअघि गरेको थियो ।

गत २२ असोजमा दुईवटा विधेयक पारित गरेर स्थगित भएको प्रदेश सभाको बैठक १ सय ४१ दिनपश्चात् मंगलबार बसेको हो ।