२०८१ बैशाख १८, मंगलबार    

हेटौंडा–१६, शक्तिका तीनहजारलाई निःशुल्क खानेपानी

२०८० आश्विन २७, शनिबार १८:२४ बजे

हेटौंडा उपमहानगरपालिकाले खानेपानीको उपभोग गर्ने नगरवासीका लागि दिएको सुविधाबाट हेटौंडा–१६ शक्तिका बासिन्दा लाभाम्बित भएका छन् ।

१७ बर्ष अघि गठन भएको शक्ति खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट बितरण भएको पानीको उपभोग गरेवापत न्यूनतम १ सय रुपियाँ तिर्दै आएका ३ हजार लाभग्रहिले निःशुल्क खानेपानीको उपभोग गर्न पाउने भएका हुन् ।

सनिवार शक्तिखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति हेटौंडा खानेपानी बोर्डमा हस्तान्तरण भएसँगै स्थानियले उपमहानगरले दिँदै आएको खानेपानीको सुविधाबाट लाभाम्बित हुने भएका हुन् । उपभोक्ता समितिबाट प्रयोग भएको पानी उपभोग गरेवापत न्युनतम दश हजार लिटर बराबर एक सय रुपियाँ तिर्ने गरेका उपभोक्ता उपमहानगरले दिएको सुबिधा बाट लाभाम्वित हुने भएको समितिका सचिब प्रेमप्रसाद पनेरुले बताए ।

शक्तिमा रहेका ६ सय ५७ घरधुरीले ५ सय ५७ धाराबाट खानेपानीको उपभोग गर्दै आएका छन् । समिति बोर्डमा हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले प्रयोग गर्दै आएको पानी उपभोग गर्न योग्य भए नभएको बुझ्न जरुरी रहेको बताइन् । उनले उपमहानगरले नगरवासी समक्ष गरेको बाचा पुरा गर्दै गएको भन्दै खानेपानी र स्वास्थ्य बिमासँगै अब बिधुतमा दिने छुटलाई कार्यान्वयनको चरणमा रहेको बताइन् । नगरको बिकास र समृद्धिका लागि सबैको सहकार्य आवश्यक रहेको भन्दै शुद्ध खानेपानी बितरण गर्ने काममा उपमहानगर प्रतिवद्ध रहेको बताइन् ।

बोर्डले शक्ति खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई लिएसँगै खानेपानीको मुहानलाई सदुपयोग गर्दै नगरको पुर्विक्षेत्रका बासिन्दालाई शुद्ध खानेपानी दिने कार्यमा थप व्यवस्थापन गर्दै लाग्ने अध्यक्ष प्रताप बिष्टले बताए । उनले भने ‘शक्तीमा रहेको खानेपानीको श्रोतको प्रयोग गर्दै हेटौंडा–१८ फुर्केचौरदेखि कमाने सम्मका उपभोक्तालाई पानी खुवाउने लक्ष्य छ ।’ बोर्डले उपमहानगर क्षेत्रमा मंहगो शुल्क तिरेर खानेपानीको उपभोग गरेका नगरवासीलाई न्यून शुल्कमा खानेपानी बितरण गर्न १५ उपभोक्ता समिति बोर्डमा लिई सकेको छ । उपमहानगर क्षेत्रमा खानेपानीको श्रोत व्यवस्थापन गर्दै खानेपानी बोर्डले चालु आर्थिक बर्ष २०८०÷०८१ सम्ममा २६ हजार धारबाट पानी उपभोक्ता माझ खानेपानी पु¥याउदै आएको जनाएको छ ।

उपभोक्ता समितिका अध्यक्ष रामबहादुर बिश्वकर्माको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा हेटौंडा–१६ का अध्यक्ष रामकृष्ण कोइराला, खानेपानी बोर्डका अध्यक्ष प्रताप बिष्ट, हेटौंडा–१६ का वडा सदस्य राजनप्रसाद दाहाल, संगिता बिश्वकर्मा, बोर्डका सदस्य इन्द्र नेपाल, बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटा लगाएतको आतिथ्यता रहेको थियो ।