२०८१ बैशाख १७, सोमबार    

२५ मिटर पीडितले मेयर र उपमेयर भेट्न पाएनन्

२०८० असार २४, आईतबार १८:१४ बजे

सडक विस्तारको क्रममा आफूहरु सुकुम्बासी हुने दावी गरिरहेका पीडितहरुले हेटौंडाका मेयर र उपमेयर भेट्न पाएनन् ।

आइतबार उद्योग बाणिज्य संघ मकवानपुरको नेतृत्वमा हेटौंडा बजार क्षेत्रका व्यवसायी र घरधनीहरु सडक विस्तार गर्नुअघि मुआब्जा र क्षतिपूर्तिको माग गर्दै हेटौंडाका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँलाई ज्ञपान पत्र बुझाउन दलबलसहित उपमहानगरको कार्यालय पुगेका थिए ।

व्यवसायीका प्रतिनिधिका रुपमा उद्योग बाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल तथा पूर्वअध्यक्ष एवम् महासंघ केन्द्रीय सदस्य कृष्ण कटुवाल एवम् पूर्वअध्यक्षहरु अरुणराज सुमार्गी तथा उत्तम ढकाल उपमहानगर ज्ञापन पत्र बुझाउन पुग्दा मेयर र उपमेयर कार्यकाक्षमा नभएपछि मौन रहन बाध्य भएका थिए ।

पीडितले उपमहानगरका कार्यकारी अधिकृत शिवराज चौलागाईंलाई ज्ञापनपत्र बुझाएका थिए । स्थानीय निकायविरुद्ध नाराबाजी गर्दै ज्ञापन पत्र बुझाउन पुगेका व्यवसायी एवम् पीडितलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् नगर प्रहरीले उपमहानगरको गेट अगाडि नै रोकेका थिए ।

पीडितहरुले हेटौंडा बजार क्षेत्रमा नाराबाजी गर्दै सडक डिभिजन कार्यालयलाई समेत ध्यानाकर्षण पत्र बुझाएका छन् ।