२०८१ बैशाख १३, बिहीबार    

योजना धेरै, बजेट कम

२०७९ श्रावण २०, शुक्रबार ११:४६ बजे

पुँजीगततर्फको बजेट खर्चसँगै योजना निर्माणको लक्ष्यअनुसार प्रगति हासिल गर्न नसकेको प्रदेश सरकारले चालू आर्थिकमा थप २४१ वटा पुलसहित ३२४ वटा पुल निर्माण गर्ने गरी योजना ल्याएको छ। तर प्रस्तावित पुलका लागि चालू आवमा विनियोजित बजेट भने अपर्याप्त रहेको पाइएको छ। निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले भन्नुभयो, “पुल बनाउने सरकारको योजनाअनुसारको बजेट विनियोजन हुन सकेको देखिँदैन। 

प्रदेश सरकारले चालू आर्थिक वर्षमा यातायात पूर्वाधार निर्देशनालय र मातहतको कार्यालयका लागि सडक र पुल निर्माण गर्न पुँजीगत शीर्षकमा १८ अर्ब ६६ करोड २४ लाख ५० हजार रुपियाँ विनियोजन गरिएको छ। उक्त बजेटमा निर्माणाधीनसहित नयाँ पुलका लागि प्रदेश सरकारले दुई अर्ब ६३ करोड रुपियाँ मात्र छुट्याएको छ। बजेट पर्याप्त नभए पनि २४१ वटा पुलको विस्तृत परियोजना प्रस्ताव तयार गरी काम थाल्ने योजना रहेको प्रवक्ता ओझाले सुनाउनुभयो। 

प्रदेश सरकारबाट निर्माण भएका पक्की पुलमध्ये हालसम्मको सबैभन्दा लामो पुल हेटौँडा उपमहानगरपालिका–११ को नवलपुर र १२ को आलदमारलाई जोड्ने गरी राप्ती खोलामा निर्माण भएको राप्ती पुल रहेको छ। २१५ मिटर लम्बाइको उक्त पुल २७ करोड ४६ लाख २० हजार २३३ रुपियाँको लागतमा निर्माण भएको हो।