२०८० चैत्र १६, शुक्रबार    

सहकारीबाट समुदायमा खुशी छर्दै डीना

२०७९ कार्तिक २०, आईतबार १८:४२ बजे

महालक्ष्मी उपाध्याय ‘डीना’ मकवानपुरको लागि मात्रै नभई नेपालकै राजनीतिमा स्थापित नाम हो । विद्यार्थी र महिलाको क्षेत्रमा महत्वपूर्ण नेतृत्वदायी भूमिका खेलेकी उनले नेपालको संविधान निर्माणमा पनि उतिकै योगदान दिएकी छन् ।

लामो समयपछि २०७२ मा जारी भएको नेपालको संविधानमा महिला, आदिवासी, जनजाती तथा दलितको हक अधिकार सुनिश्चित गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । २०३९ सालबाट राजनीति सुरु गरेकी डीना मकवानपुरमा महिलाहरुको सशक्तिकरणको अभियान संचालन गरेकी अभियान्ता हुन् ।

उनले मकवानपुरमा पहिलो पटक निरक्षर महिलाहरुलाई साक्षर बनाउन प्रोढ शिक्षाको मात्रै सुरुवात गरिनन्, महिलालाई आर्थिक रुपमा सशक्त गर्ने अभियान पनि चलाइन् । डीनाले मकवानपुरको महिलाहरुलाई आर्थिक र सामाजिक रुपमा सशक्त बनाउन विभिन्न तालिमहरु संचालन गरेर महिलालाई व्यवसायसँग जोड्ने तथा सहकारीमार्फत उनीहरुलाई आर्थिक रुपमा सवल बनाउने अभियान पनि चलाइन् । उनले २०५५ सालमा मकवानपुरमा दिव्यतारा बहुउद्देश्यीय सहकारी स्थापना गरिन् ।

उक्त सहकारीको सस्ंथापक अध्यक्ष डीनाले सहकारीमार्फत महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउनको लागि गाउँ–गाउँमा पुगिन् । जिल्लाको विभिन्न विकट गाउँमा पुगेर उनले महिलाहरुलाई सहकारीमा जोड्दै उनीहरुलाई आत्मनिर्भर बनाउने अभियान सुरु गरिन् । हाल उनी उक्त सहकारीको संरक्षक छिन् । डीनाले महिला सशक्तिकरणको लागि खोलेको सहकारीले हाल रेडियो, सुपथ सहकारी पसल र शुद्ध तोरीको तेल उद्योग संचालन गरिरहेको छ ।

त्यस्तैगरी, कृषि स्रोत केन्द्र सावुन र गोलभेडा प्रसोधन उद्योग संचालनको तयारी पनि गरिरहेको छ । ११ हजार ५७९ शेयर सदस्य रहेको उक्त सहकारीले महिलासँगै युवा स्वरोजगार र किसानहरुले उत्पादन गरेको कुरालाई पनि प्राथमिकतामा राखेर विभिन्न कार्य गर्दै आएको छ ।

मकवानपुरबाट सुरु भएको उक्त सहकारी चितवन र ललितपुरमा पनि शाखा विस्तार गर्न सफल भएको छ । सहकारीको ११ वटा शाखा र मुख्य कार्यालयसहित १२ वटाबाट बित्तिय कारोबार रहेको छ । सहकारीबाट करिब ३ हजार जना स्वरोजगार बनेका छन् । प्रदेश सरकारबाट सहकारी पदक प्राप्त गरेको दिव्यतारा सहकारीले जनताको जीवनस्तर उकास्ने काम गर्दै आएको छ । वार्षिक कारोबार २० अर्ब रहेको सहकारीले राष्ट्रिय सहकारी बैंकबाट उच्च कारोबार गरेबापत सम्मान र संघबाट सम्मान पाएको छ ।

डीनाले महिला सशक्तिकरणको लागि सुरुवात गरेको सहकारीले हाल मकवानपुरसँगै अन्य जिल्लामा पनि महिला र युवा स्वरोजगारसँगै कृषि उत्पादनलाई पनि जोड दिएर काम गरिरहेको छ । केहिदिन अघिमात्रै चुनावी अभियानअन्तर्गत हेटौंडा–१५ पुगेकी डीनालाई त्यहाँको महिलाहरुले सहकारीमार्फत आफूहरुलाई विगतमा तालिम दिएकोमा धन्यवाद् समेत दिएका थिए । डीनाले आत्मनिर्भर बन्नको लागि दिएको तालिम र सहकारीबाट प्राप्त व्यवसायिक आर्थिक सहयोगले आफूले आर्थिक उपार्जन गर्न सकेको भन्दै खुशी व्यक्त गरेका थिए ।