२०८१ जेठ ७, सोमबार    

काठ तस्करीको आरोपमा हाँडीखोलाबाट नौ जना पक्राउ

२०७८ फाल्गुन ८, आईतबार १३:५९ बजे

काठ तस्करी गरेको आरोपमा मकवानपुरको हाँडीखोला क्षेत्रबाट पर्सा राष्ट्रिय निकुञ्जले नौ जनालाई नियन्त्रणमा लिएको छ ।

मनहरी गाउँपालिका–४, मसिनेमा रहेको मसिने–शान्ति मध्यवर्ती सामुदायिक वनका तीजना पदाधिकारीसहित आरक्षले उनीहरुलाई नियन्त्रणमा लिएको हो । स्थानीयका अनुसार समुदायिक वनका सचिव शिवप्रसाद विडारी, कोषाध्यक्ष शिशुपाल वस्नेत र सहसचिव बासु पौडेललाई पर्सा राष्ट्रिय निकुञ्ज आधाभार कार्यालय बाराले ८ दिनदेखि हिरासतमा राखेको छ ।

स्थानीयका अनुसार काठ तस्करमा संलग्न रहेको आरोपमा चारजना उपभोक्तालाई पनि पक्राउ गरिएको छ । उपभोक्तालाई ११ दिनदेखि थुनामा राखिएको छ । उनीहरुको नाम निकुञ्जले बताउन चाहेको छैन । काठ किनवेचको आरोपमा पक्राउ परेको अन्य दुईजनाको नाम भने खुलिसकेको छैन । उनीहरुलाई ४ दिन अगाडि निकुञ्जको बारा कार्यालय हाजिर हुन पत्र काटिएको थियो । हाजिर हुन कार्यालय पुगेको समयमा उनीहरुलाई पक्राउ गरी अनुसन्धानका लागि भन्दै थुनामा राखिएको हो ।

लामो समयदेखि हाँडीखोला क्षेत्रमा निकुञ्ज र स्थानीयवीच द्वन्द्व चलिरहेको छ । विशेष गरी काठ र ढुङ्गा गिट्टी उत्खनन्को विषयमा दुईपक्षवीच विवाद हुने गरेको छ । बेलाबेलामा दुईपक्षवीच झडप समेत हुने गरेको छ । स्थानीयले पदमपोखरी र हाँडीखोला क्षेत्रलाई निकुञ्जबाट हटाउन संघर्ष समिति नै गठन गरेर लामो समयदेखि आन्दोलन गरिरहेका छन् ।