२०८१ बैशाख २०, बिहीबार    

डेंगुविरुद्ध प्रत्येक वडामा स्प्रे अभियान

२०७९ आश्विन २९, शनिबार १५:५८ बजे

मकवानपुरमा कोरोना (कोभिड–१९) महामारीलाई सम्झाउने गरी एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुन डेंगु संक्रमण फैलिएको छ ।

कोरोना महामारीको त्रास घटेको करिब १ वर्षपछि डेंगु संक्रमण जिल्लाभर फैलिएको हो । कोरोना संक्रमणको त्रास घटेको केही समयभित्रै मकवानपुरका १० वटै स्थानीय तहमा डेंगुले भयावह बनाएको हो । डेंगुका बिरामीले जिल्लास्थित हेटौंडा अस्पताल र निजी अस्पताल भरिएका छन् । दैनिक दोहोरो अंकमा डेंगु संक्रमित फेला परिरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी, मनहरी, भीमफेदी र राक्सिराङ गाउँपालिका घर भएकाहरुमा डेंगु देखिएको हो । यी पाँच स्थानीय तहमध्ये हेटौंडा उपमहानगरमा सबैभन्दा धेरै डेंगु संक्रमित फेला परेका छन् ।

कोरोना संक्रमण दैनिक फैलिए जस्तै डेंगुका बिरामीहरु पनि दैनिक थपिँदै गएको तथ्यांकले देखाएको छ । हेटौंडा अस्पतालमा डेंगुको किट नै अभाव भइरहेको छ । डेंगु लक्षण देखिएका बिरामीहरुले सहजै डेंगु परीक्षणका लागि किट नपाएको गुनासो छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकृत लक्ष्मण घिमिरेका अनुसार गत आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ९५ जना डेंगुको संक्रमणमा रहेपनि चालु आर्थिक वर्ष २०७९÷०८० मा अहिलेसम्म चारहजारभन्दा बढी डेंगुको बिरामी भैसकेका छन् । अहिलेको संक्रमण दर अनुसार डेंगु डरलाग्दो अवस्थामा पुगेको उनले बताए । हेटौंडामा डेंगुका बिरामी उपचार पछि निको भएपनि दोहोरीने बिरामीहरुपनि फेला परेको तथ्याङ छ ।

मकवानपुरका १० पालिकामध्ये सबैभन्दा बढी प्रभावित बनेको हेटौंडामा डेंगु संक्रमण भयावहको स्थितिमा पुगेको छ ।

उपमहानगरपालिकाले नगरभित्रका १९ वटै वडामा डेंगु नियन्त्रणका लागि स्प्रे छर्ने कार्यलाई निरन्तरा दिइरहेको हेटौंडाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । हेटौंडामा डेंगु नियन्त्रण गर्न सुरु गरेको किटनासक औषधि सहितको स्प्रे नगरका सबै वडाहरुमा पु¥याइएको उनले बताए । वडा कार्यालयहरुले पनि स्प्रे छर्ने कार्यलाई प्रमुखताका साथ ध्यान दिइरहेका छन् ।

३ नम्बर वडा कार्यालयले हरेक दिन स्प्रे छर्दै आइरहेको छ । डेंगुको जोखिम उच्च हुँदै गएपछि उपमहानगरले स्प्रे अभियानलाई थप गर्दै लगेको प्रवक्ता न्यौपानेले बताए ।