२०८१ बैशाख २९, शनिबार    

बागी उम्मेदवार कांग्रेसलाई टाउको दुखाइ

२०७९ बैशाख १३, मंगलबार १६:०८ बजे

बागी उम्मेदवारका कारण नेपाली कांग्रेस मकवानपुरलाई समस्या परेको छ ।

वैशाख ३० का लागि तोकिएको स्थानीय तह निर्वाचनको टिकट वितरणलाई पारदर्शी बनाउन नसक्दा कांग्रेसका नेताहरुले विभिन्न स्थानमा बागी उम्मेदवार दिएका हुन् । सत्तारुढ गठबन्धनले तोकेकोभन्दा अन्य उम्मेदवारलाई कांग्रेसले बागीको रुपमा चित्रण गरेको छ ।

मनहरी गाउँपालिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि शंकर न्यौपानेले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले नेपाली कांग्रेस (वीपी) पार्टीकोतर्फबाट उम्मेदवारी दिएका हुन् । उनीसँगै सोही दलबाट कांग्रेस नेतृ जानुकी लामाले उपाध्यक्षमा उम्मेदवारी दिएकी छिन् । न्यौपानेले आफ्नो वडा मनहरी–४ मा कांग्रेसबाट कुनै पनि पदमा उम्मेदवारी नै नदिने अवस्था सिर्जना गरेका थिए । फलस्वरुप यस वडामा नेपाली कांग्रेसको उम्मेदवार नै छैन ।
जिल्लाको पूर्वीक्षेत्रमा पर्ने वाग्मती गाउँपालिका अध्यक्षमा पनि कांग्रेस नेता शंकर पराजुलीले अध्यक्ष र शेरबहादुर लामा भोलन उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । दुवैले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका हुन् ।

हेटौंडा उपमहानगरपालिका–२ मा सुदिप राजबाहक र हेटौंडा–९ अध्यक्षमा सुशील सिग्देलले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन् । राजबाहक अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । सिग्देल तरुण दल नगरका पूर्वसचिव हुन् । कांग्रेसले हेटौंडाको ३ वटा वडामा दुई/दुईजनालाई टिकट वितरण गर्दा पनि समस्या सिर्जना भएको छ । पार्टीको आधिकारीक पत्र भएर पनि उम्मेदवारी दर्ता गराउन नपाएपछि दुईजनाले स्वतन्त्रमा उम्मेदवारी दिएका छन् । उनीहरुको हकमा भने कांग्रेसले बागी भनेर चित्रण गर्न सकेको छैन ।