२०८१ बैशाख १३, बिहीबार    

तीन महिनापछि हेटौंडा सिमेन्टको उत्पादन सुरु

२०७९ कार्तिक १५, मंगलबार १७:१७ बजे

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरु गरेको छ ।  कोइलाको आपूर्ति नहुँदा गएको तीन महिनादेखि बन्द रहेको उद्योगमा मंगलबारबाट उत्पादन सुरु गरिएको महाप्रबन्धक वसन्तकुमार पाण्डेले जानकारी दिए ।

बोलपत्र आह्वान गरी उद्योगका लागि आवश्यक कोइला भारत, भुटान, इन्डोनेसियालगायतका देशबाट आपूर्ति गरिएको र हाल उद्योगमा १४ हजार म्याट्रिक टन कोइला आपूर्ति भइरहेको महाप्रबन्धक पाण्डेले बताए ।  आर्थिक अभावका कारण सिमेन्ट उद्योगमा केही महिनादेखि समयभित्रै कोइला आपूर्ति गर्न कठिनाइ रहेको र अहिले वैकल्पिक उपाय अवलम्बन गरी कोइला आपूर्ति गरी उत्पादन सुरु गरिएको उनको भनाइ छ । 

उत्पादन बन्द भएकै कारण उद्योगले करोडौँ क्षति व्यहोर्नुपरेको उनले बताए । उपकरणहरूको मर्मत गर्नुपर्ने भन्दै साउन दोस्रो हप्ताबाट उद्योग दुई हप्ताका लागि बन्द गरिएको थियो। तर, कोइला आपूर्तिसमेत नभएपछि सिमेन्ट उत्पादन कार्य बन्द गरिएको थियो । 

उद्योगबाट दैनिक १० देखि १४ हजार बोरा गुणस्तरीय सिमेन्ट उत्पादन हुँदै आएको छ। उद्योगमा पर्याप्त चुनढुंगाको भण्डारण रहेको भएपनि दैनिक ११० टन कोइला खपत हुने गरेको र आवश्यक मात्रामा आपूर्ति नहुँदा समस्या हुँदै आएको उद्योग व्यवस्थापनले जनाएको छ ।