२०८० चैत्र १६, शुक्रबार    

मानव अधिकार रक्षकको भूमिका र सुरक्षाका विषयमा बढी जोड

२०७९ भाद्र १२, आईतबार १३:५७ बजे

मानव अधिकार रक्षकको संरक्षण र सम्वद्र्धन विषयमा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा आइतबार बिहान हेटौंडामा भएको अन्तरक्रियामा मानव अधिकार रक्षकको भूमिका र सुरक्षाका विषयमा बढी जोड दिइएको थियो ।

अन्तरक्रियामा सहभागीले मानव अधिकार रक्षकहरु राजनीतिकरुपमा विभाजित भएर कार्य गर्नु आलोचनाको विषय भएको उल्लेख गरिएको थियो भने राजनीतिक दलकै दबाबका कारण मानव अधिकार रक्षकहरु दबावमा पर्ने गरेको बताइएको थियो । माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाले हिंसा पीडितको पक्षमा बोल्दै गर्दा पीडक पक्षबाट विभिन्न किसिमका डर, धम्कीको सामना गर्नु परेको बताउनुभयो । पीडितको पक्षमा पैरवी गर्दै गर्दा आफैंलाई भौतिक आक्रमण हुने जोखिमसँगै भौतिक आक्रमणको त्रासले मानसिकरुपमा असाध्यै ठूलो बोझ बोक्न बाध्य भइरहेको लामाको भनाइ थियो ।

कानुन व्यवसायी अप्सरा बस्नेतले पीडितको पक्षमा न्यायिक उपचारका लागि वकालत गर्दै गर्दा सुरक्षाकर्मीबाटै धम्की व्यहोर्नु परेको बताउनुभयो । मानव अधिकारको रक्षा र अधिकारमाथि हस्तक्षेप नहोस् भन्नाका लागि स्थानीय सरकारको रुपमा पालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुलाई जिम्मेवार बनाउन आवश्यक रहेको सिविन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवालीले बताउनुभयो । अधिकारकर्मी दिपेन्द्र पाठकले अधिकारकर्मीबीच एकता र सामूहिक प्रयत्न हुनुपर्ने बताउनुभयो ।

इन्सेक बागमती प्रदेश कार्यालयका प्रमुख गणेश भण्डारीले नागरिक अधिकार स्थापित गर्न र अधिकार उल्लंघन नहोस् भनी अधिकार रक्षकको सुरक्षाको विषयमा अन्तरक्रियाको आयोजना गरिएको बताउनुभयो ।