२०८३ बैशाख ५, शनिबार    

सभापति चयनका लागि निर्वाचन प्रक्रिया सुरु

२०८१ जेठ ३, बिहीबार १५:४५ बजे

वाग्मती प्रदेश सभाअन्तर्गतको पाँचवटै विषयगत समितिका सभापति चयन गर्न निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ ।

प्रदेश सभाअन्तर्गतको समितिका सभापति पदमा सर्वसम्मतको प्रयास भए पनि दलहरूबीच सहमति हुन नसकेपछि आजदेखि निर्वाचन प्रक्रिया सुरु गर्न लागिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

सभापति चयनका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक, भोलि मनोनयन दर्ता र जेठ ५ गते शनिबार मतदान हुनेगरी निर्वाचन प्रक्रिया सुरु गर्न लागिएको उनले बताए ।

प्रदेश सभाअन्तर्गत प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छ । ती सबै समितिमा लामो समयदेखि सभापति चयन हुन नसक्दा समितिहरूको कामकाज प्रभावित हुँदै आएको छ ।

कुल एक सय १० सदस्यीय वाग्मती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।