२०८१ बैशाख १२, बुधबार    

जनमतको अपमान गर्नेसंग कुनै एजेण्डै छैन : पराजुली

२०७९ कार्तिक २६, शनिबार १८:३७ बजे

लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार कांग्रेसका नेता आनन्दराम पराजुलीले जनमतको अपमान गर्ने एमालेसंग अहिले कुनै एजेण्डा नै नभएको आरोप लगाएका छन् ।

एजेण्डाविहीन एमालेले अहिले गठबन्धन भत्काउन अनेक षड्यन्त्र गरिहेको बताए । युवा भेलामा उनले मकवानपुरको क्षेत्र नम्बर १ का एमालेका नेता कार्यकर्ता समेत गठबन्धनलाई मतदान गर्न तयार रहेको दावी गरे । ‘एमालेका असली नेता कार्यकर्ताहरु अहिले पीडामा छन् । एमालेमा बर्षौं काम गरेका नेताहरुलाई पाखा लगाएर व्यवस्था विरोधीलाई टिकट दिएको छ’, पराजुलीले भने, ‘हामी साझा उम्मेदवार हौं, साझा भएरै काम गर्नेछौं । एमालेको पनि काम गर्छौं ।’ निर्वाचनको समयमा जनतामाझ गरेको प्रतिबद्धता पूरा गर्न नसके अर्को पटक भोट माग्नै नआउने उनको भनाई थियो ।

‘हामी जे बोल्छौं, त्यो पूरा गर्छौं, गर्न नसक्ने काम बोल्दैनौं’, उनले थपे, ‘तपाईंहरुको काम गर्न, सेवा गर्न आएका हौं । बोलेको कुरा पूरा गर्न सकेनौं भने अर्को पटक हात जोडेर आउँदैनौं । हामी काममा विश्वास गर्छौं ।’ पछिल्लो समय आर्थिक प्रलोभन देखाउँदै केही उम्मेदवार गाउँ डुलिरहेको जानकारीमा आएको भन्दै उनले अहिले पैसा बाँड्नेले पछि भ्रष्टाचार गर्ने भएकोले सतर्क रहन अनुरोध गरे ।

जागरुक युवाहरुले अब परिवर्तनको पक्षमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने र मतदान गर्न लगाउनुपर्ने सुझाव दिए । तरुण दलका नेता सुशील सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी नेपाली पाख्रीन, कांग्रेस मकवानपुर सचिव ईश्वर पाठक, युवा संघका केन्द्रीय सचिवालय सदस्य कविन पन्त, वाइसीएलका जिल्ला अध्यक्ष लवराज ठकुरी, युवा संघ नगर इन्चार्ज सफल अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।