२०८१ बैशाख ८, शनिबार    

कांग्रेसनिकट पत्रकारहरूलाई चुनावको रन्को

२०७९ असार २०, सोमबार १४:४४ बजे

नेपाली कांग्रेसनिकट पत्रकारहरूको संगठन प्रेस युनियनमा आवद्ध पत्रकारहरूलाई चुनावको रन्कोले छोएको छ । आठ वर्षपछि हुन लागेको युनियनको नवौँ महाधिवेशनमा नेतृत्व हत्याउन कांग्रेसनिकट पत्रकारहरू चुनावी दौडमा होमिएका छन् । 

 

आगामी साउन ६ र ७ गते हेटौंडामा हुन लागेको महाधिवेशनमा उम्मेदवार बन्ने घोषणा गरेका धेरैजसो पत्रकारहरू पार्टी नेतृत्व र अन्य पत्रकारहरूसँग भेटघाटमा व्यस्त बनेका छन् ।  महाधिवेशनमा अनिता विन्दु, सरोज अधिकारी, शिव लम्साल, दीपक आचार्य, उमिद बागचन्दलगायतले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यसमध्ये विन्दु र अधिकारीले कांग्रेस संस्थापन पक्षबाट उम्मेदवार बन्ने लबिङ थालेका छन् भने आचार्य र लम्साल नेता शेखर कोइराला पक्षबाट उम्मेदवार बन्ने प्रयासमा छन् । 

वरिष्ठ उपाध्यक्ष पदमा निरज खतिवडा, लिलाराज खनाल, जगत साउदलगायतले उम्मेदवारी घोषणा गरेका छन् । त्यसमध्ये साउद संस्थापन पक्षबाट र बाँकी दुईजना कोइराला खेमाबाट उम्मेदवार बन्ने प्रयासमा छन् । 

 
त्यस्तै, सातवटै प्रदेशबाट उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । तर, युनियनको विधानको टुंगो नलागेकाले प्रदेश उपाध्यक्ष वा सिधैं उपाध्यक्ष पद राख्ने भन्नेमा छलफल जारी रहेको युनियनका एक नेताले बताए । ‘विधानको टुंगो लागेपछि प्रदेशबाट पनि भटाभट उम्मेदवारी घोषणा हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ,’ उनले भने । 

अध्यक्ष पछिको शक्तिशाली पद महासचिवमा उम्मेदवारी घोषणा गर्नेको संख्या पनि धेरै छ । हालसम्म नकुल अर्याल, खिला कार्की, दीलिप पौडेल, रमेश वाग्ले, केशव साउद, शिवराज योगी, भीष्मराज ओझालगायतले उम्मेदवारी घोषणा गरेका छन् । त्यसमध्ये  केशव साउद, भीष्म ओझा र शिवराज योगीमध्ये एकजना कांग्रेस संस्थापन पक्षको उम्मेदवार हुने संभावना रहेको छ । बाँकीले संस्थापन इतर पक्षबाट महासचिवको उम्मेदवार बन्ने प्रयत्न गरिरहेको बताइएको छ । 

त्यस्तै, उपमहासचिवमा हालसम्म भुवन शर्मा र युवराज गौतमले उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यसमध्ये शर्मा संस्थापन पक्ष र गौतम कोइराला पक्षको उम्मेदवार बन्ने संभावना रहेको छ । 

सचिव पदका लागि खगेन्द्र भण्डारी, मेनुका ढुंगाना, राधा खनाल, माधव अर्याल, विजय रेग्मी, केशव बस्नेतलगायतले हालसम्म उम्मेदवारी घोषणा गरेका छन् । भण्डारी, ढुंगाना, खनाल र अर्याल संस्थापन पक्ष तथा रेग्मी र बस्नेत संस्थापनइतर पक्षबाट उम्मेदवार बन्ने चर्चा छ ।  कोषाध्यक्ष पदमा पदमराज जोशी, माधव धिताललगायतले उम्मेदवारी दिने चर्चा छ । 

हालसम्म विधानको टुंगो नलागेकाले कुन-कुन पद र कति संख्यामा रहन्छ भन्ने अन्योल रहेकाले अझै धेरैले उम्मेदवारी घोषणा नगरेको बताइएको छ । मुख्यत: उपाध्यक्ष र सचिव पदको विभाजन कसरी र कति संख्यामा हुने भन्ने टुंगो लागिनसकेकाले उम्मेदवारी घोषणामा पनि अन्योल देखिएको सचिव पदका आकांक्षी खगेन्द्र भण्डारीले बताए । 

युनियनको आठौँ महाधिवेशन २०७१ भदौमा भएको थियो । विधानअनुसार युनियनको कार्यकाल तीन वर्षको हुने भनिए पनि लामो समयदेखि महाधिवेशन हुन सकेको थिएन । २०७४ मै हुनुपर्ने नवाैँ महाधिवेशन समयावधि सकिएको पाँच वर्षपछि हुन लागेको हो ।

 

facebook sharing button
twitter sharing button
pinterest sharing button
sharethis sharing button