२०८१ बैशाख २१, शुक्रबार    

पिप्ले फाइनलमा प्रवेश

२०७८ चैत्र १०, बिहीबार १९:१६ बजे

साविकको विजेता पिप्ले युवा छैठौं राजर्षी जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सर्लाहीमा जारी प्रतियोगितामा आयोजकलाई टाइब्रेकरमा स्तब्ध पार्दै हेटौंडाको पिप्ले लगातार दोस्रो पटक उपाधि नजिक पुगेको हो ।

निर्धारित समय गोलरसहित बराबरी टुंगिएपछि टाइब्रेकरमार्फत् निर्णय लिइएको थियो । पिप्लेले आयोजकलाई ४–२ गोल अन्तरले हराएको हो । पिप्लेको तर्फबाट अशोक खवास, ऋतिक खड्का, कुलदीप कार्की र मार्टिन्सको प्रहार गोलमा परिणत भएको थियो भने सर्लाहीका आयुष राना मगर र अनिल रानाले मात्रै गोल गरेका थिए ।

अमर श्रेष्ठको प्रहार पिप्लेका गोलरक्षक अनिष देउलाले बचाउ गर्दा ईमान घलानको प्रहार बाहिरिएको थियो । खेलमा पिप्लेका गोलरक्षक देउला नै म्यान अफ द म्याच भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । अब पिप्लेले उपाधिका लागि मछिन्द्र क्लव र सुदूरपश्चिम ११ को विजेतासंग १३ गते आइतबार खेल्नेछ ।

खेलाडीको मिहिनेतका कारण फाइनल यात्रा तय गर्न सफल भएको पिप्ले युवा क्लबका प्रशिक्षक सुविन घिमिरेको भनाइ छ । प्रशिक्षक घिमिरेले लगातार दोस्रो पटक उपाधि उचाल्ने लक्ष्य नजिक पुगेको बताए । खेलाडीको उत्कृष्ट प्रदर्शन फाइनलमा पनि कायमै रहनेमा विश्वास व्यक्त गर्दै समर्थक र सहयोगीको साथ पनि विजयी हुन प्रेरित गर्ने प्रमुख कारण भएको प्रशिक्षक घिमिरेको भनाइ छ ।