२०८१ बैशाख १६, आईतबार    

हेटौंडा ११ र १९ उपमेयर कप भलिबल च्याम्पियन

२०७९ चैत्र २९, बुधबार १९:२३ बजे

उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि छिनोफानो भएको छ । हेटौंडा–१२, बुद्ध माविको कोर्टमा भएको ५ औं संस्करणको पुरुषतर्फ हेटौंडा–११ र महिलातर्फ हेटौंडा–१९ नम्बर वडा च्याम्पियन भएको हो ।

पुरुषतर्फ हेटौंडा–११ ले १९ नम्बर वडालाई २५–१५, २५–२१, १८–२५, २१–२५ र १५–८ को कठिन सेटमा पराजित गरेको हो । महिलातर्फ हेटौंडा–१९ ले ९ नम्बरलाई २०–२५, २५–२१, २५–१६, २५–२२ र १५–१३ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । उपाधिसहित विजेता र उपविजेता टोलीले क्रमशः ५० र ३० हजार रुपैयाँ नगद प्राप्त गरेको छ । सेमिफाइनलमा पुग्ने पुरुष र महिलातर्फको टोलीलाई नगद दश/दश हजार रुपैयाँ प्रदान गरिएको छ ।

महिलातर्फ हेटौंडा–१९ की झरना मोक्तान सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । हेटौंडा–१९ की सरिता तितुङ उत्कृष्ट स्पाइकर र मदन उप्रेती उत्कृष्ट प्रशिक्षक घोषितहुँदा हेटौंडा–९ की आयुष सिंह उत्कृष्ट लिफटर र खुशी पौडेल उदीयमान खेलाडी घोषित भए ।

पुरुषतर्फ हेटौंडा–११ का राजेश घिमिरे सर्वोत्कृष्ट खेलाडी र कमल थापा उत्कृष्ट प्रशिक्षक चयन भए । हेटौंडा–१९ का हेम उप्रेती उत्कृष्ट स्पाइकर, सफल कडेँल उत्कृष्ट सेटर तथा हेटौंडा–१२ का विशाल जिम्बा उदीयमान खेलाडी घोषित भए । उनीहरुले नगदसहित सम्मान पत्र प्राप्त गरेका थिए ।

हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको फाइनलमा केशवलाल श्रेष्ठ स्मृत केन्द्रीय प्रतिष्ठान द्वितीय उपाध्यक्ष खुशराज दाहालको सभाध्यक्षता रहेको थियो । भलिबल संघ मकवानपुर जिल्ला अध्यक्ष बसन्त सिटौला, विभिन्न वडाका अध्यक्ष तथा स्थानीय जनप्रतिनिधि फाइनलमा उपस्थित थिए ।

केशवलाल श्रेष्ठ स्मृत केन्द्रीय प्रतिष्ठानको आयोजना तथा उपमहानगरपालिका र भलिबल संघको सहआयोजनामा चैत २७ गतेबाट प्रतियोगिता सुरु भएको हो ।