मकवानपुरको मनहरी गाउँपालिकाका दुग्ध उत्पादक किसानले अब महिनाको दुई पटक भुक्तानी पाउने भएका छन् । आफूले बिक्री गरेको दूधको रकम समयमै नपाएर समस्या झेल्दै आएका किसानको उत्पादनको बजार सुनिश्चितता पालिकाले गरेसँगै अब समयमै भुक्तानी पाउने भएका हुन् ।
हेटौंडा–१९, नेवारपानीमा रहेको हेटौंडा डेरी इण्डष्ट्रिज र दुग्ध उत्पादक सहकारीसँग सम्झौता गर्दै कात्तिक १ गतेबाट लागू हुने गरी किसानलाई महिनाको दुईपटक भुक्तानी दिने व्यवस्थाको सुरुवात गरेको हो ।
मनहरी–८ मा रहेको सानाकिसान कृषि सहकारी संस्था र गाउँपालिकाभित्र रहेका दुग्ध उत्पादक सहकारीसागको पटक–पटकको छलफलपश्चात् पालिकाले समयमै भुक्तानी गर्ने वातावरण तयार पारेको हो । यसअघि मनहरीका किसानले उत्पादन गरेको दूध जिल्ला दुग्ध उत्पादक सहकारीमार्फत विक्रीहुँदै आएको थियो । अब गाउँपालिकाले कृषि उपज संकलन तथा बिक्री केन्द्र स्थापना गरी सहकारीसँग दूध खरिद गरी हेटौंडा डेरी इण्डष्ट्रिजलाई बिक्री गर्नेछ । उद्योगले प्रत्येक महिनाको दुई पटक किसानलाई दूधको भुक्तानी उपलब्ध गराउनेछ ।
मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले अब दूधको भुक्तानीका लागि किसानले ४/५ महिना कुर्नुपर्ने अवस्थाको अन्त्य भएको दावी गरेका छन् । ‘दूधको भुक्तानी कैले आउाछ भन्ने प्रश्नको अब हल भएको छ । पहिले जस्तो भुक्तानीका लागि अब ५/६ महिना कुर्नुपर्दैन । किसानलाई राहत दिलाउन हामी यो निर्णयमा पुगेका हौं’, कालाखेतीले भने, ‘दूध संकलन गर्ने सहकारीसाग विभिन्न चरणको छलफल गरेर यहाँसम्म आइपुगेका हौं ।’ सम्झौता बमोजिमकै समयमा भुक्तानी हुने जानकारी दिँदै उनले नभए त्यसको जिम्मेवारी पालिकाले लिने बताए । किसानले पाउनुपर्ने दूधको पुरानो बक्यौता समेत मंसिर १० गते भित्र भुक्तानी हुने उनले जानकारी दिए ।
पालिका उपाध्यक्ष सीता पुलामी मगरले समयमा भुक्तानी नपाउँदा किसानले धेरै समस्या झेल्नुपरेको जानकारीपश्चात् हेटौंडा डेरीसंग सहकार्य गरिएको बताइन् । अझै केही किसानले ३ महिनादेखि भुक्तानी पाउन नसकेको जानकारी दिँदै उनले पालिकाले उद्योग र सम्बन्धित सहकारीसँग सम्झौता गरेको बताइन् । उनका अनुसार मनहरीमा ६ वटा सहकारीले दूध विक्री गर्दै आएको छ । ‘अब प्रत्येक किसानले १५/१५ दिनमा भुक्तानी पाउनेछन् । महिनौंदेखि भुक्तानी नपाउने समस्या समाधान हुनेछ’, उपाध्यक्ष मगरले भनिन्, ‘किसानको सहजताका लागि हामीले यो काम गरेका हौं । यसबाट उत्पादन समेत वृद्धि हुने विश्वास लिएका छौं ।’
मनहरी गाउँपालिकामा दैनिक ६ हजार ५ सयदेखि ७ हजार लिटरसम्म दूध उत्पादन हुँदै आएको छ । सानाकिसान सहकारीका अध्यक्ष विमला कार्कीले किसानले रकम भुक्तानीको समस्या वर्षौंदेखि झेल्दै आएको जानकारी दिँदै अब सहज हुने विश्वास व्यक्त गरिन् ।