२०८१ बैशाख ६, बिहीबार    

एकवर्षपछि किसानले पाए वर्डफ्लुको क्षतिपूर्ति

२०७९ चैत्र ३०, बिहीबार १७:१२ बजे

सर्वत्र दबाबपश्चात् पशुसेवा विज्ञ केन्द्र हेटौंडाले बर्डफ्लुको क्षतिपूर्तिवापत्को राहत रकम किसानलाई वितरण सुरु गरेको छ ।

लेखापाल नभएका कारण रोकिएको भुक्तानी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय हेटौंडाले कर्मचारी उपलब्ध गराएपछि संघीय कृषि मन्त्रालयले वाग्मती प्रदेश मातहतमा रहेको विज्ञ केन्द्रमा बर्डफ्लुको क्षतिपूर्ति उपलब्ध गराउन पठाएको रकम हेटौंडा उपमहानगरपालिकातर्फको वितरण सकिएको छ ।

अब गाउँपालिकाको भुक्तानी सुरु गरिने कुखुरा व्यवसायी संघ मकवानपुरका पूर्वअध्यक्ष राजु अधिकारीले जानकारी दिए । सरकारले १ करोड ८७ लाख ८९ हजार ५४४ रुपैयाँ राहत रकम उपलब्ध गराएको दुई हप्ता वित्दा पनि लेखापाल नहुँदा उक्त रकम वितरणमा ढिलाइहुँदै आएको थियो ।

पशु सेवा विभागका अनुसार केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा एकवर्ष अगाडि मकवानपुरको विभिन्न स्थानको कुखुरामा बर्डफ्लु संक्रमण देखा परेको थियो ।

राहतको पर्खाइमा रहेका ३७ जना किसान सरकारले उपलब्ध गराएको राहत अन्य जिल्लामा वितरण भइसक्दा यहाँ नभएपछि आन्दोलनको तयारीमा जुटेका थिए ।

बजार मूल्य अनुसार निर्धारण भएको क्षतिपूर्ति रकम प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा बसेको बैठकले वितरण गर्ने निर्णय गरेपनि कर्मचारीको अभावमा ढिला हुन पुगेपछि समस्या सिर्जना भएको थियो ।

कार्यालयले लेखापालको रुपमा डीवी खड्कालाई विज्ञ केन्द्रमा पठाएको थियो ।