२०८१ बैशाख १८, मंगलबार    

गर्भवती भेट्न नकौंली पुगिन् नगर प्रमुख लामा

२०७९ मंसिर २७, मंगलबार १५:०५ बजे

स्वास्थ्य चौकीमा नियमित स्वास्थ्य जाँच गरिरहेका हेटौंडा–१ नकौलीका गर्भवती महिलाहरुलाई भेट्नका लागि हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामा गाउँसम्म पुगेकी छन् ।

३ बर्षदेखि संघीय सरकारबाट प्राप्त ‘पोषण सम्वेदनशीलता कार्यक्रम’ को कोसेली बोकेर नगरप्रमुख लामा गाउँ पुगेकी हुन् । गाउँमा रहेर गर्भवती अवस्थामा अपनाउनुपर्ने सुरक्षा र खानपर्ने पोषणयुक्त खानाको बारेमा जानकारी दिने उद्देश्यसहित उनी नकौंली गएकी हुन् । नकौंली स्वास्थ्य चौकीमा पुगेर नियमित गर्भ जाँचमा रहेका १३ जना गर्भवतीलाई भेट्दै नगर प्रमुख लामाले गर्भवती अवस्थामा ख्याल गर्नुपर्ने कुराको बारेमा जानकारी दि“दै आफू र आफ्नो बच्चाको ख्याल गर्न आग्रह गरिन् ।

उनले गाउँमा भेट भएका गर्भवतीलाई पोषयुक्त खानेकुरा घ्यू, काचो बदाम, अण्डा, दालसहित न्यानो कपडा हस्तान्तरण गरिन् । सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख लामाले आफूले भोगेका अनुभव साट्दै सबैलाई सचेत रहँदै नियमित स्वास्थ्य जाँचगर्दै आफू र आफ्नो बच्चाको सुरक्षाको लागि स्वास्थ्य संस्थामै पुगेर बच्च जन्माउन सबैलाई आग्रह गरिन् । उनले बच्चा गर्भमा रहेकै भरमा आफूलाई हिनताबोध नगरी हिम्मतका साथ काम गर्न सुझाब दिँदै गाउँमा रहँदा परेका समस्याका बारेमा जानकारी दिए आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाइन् । सुत्केरी भएपछि आयमूलक काममा जोडिएर दैनिक वा मासिक आम्दानीको स्रोत पहिचान गर्न उपमहानगरपालिका सहयोगी बन्ने बताइन् ।

नकौलीमा नियमित स्वास्थ्य संस्था सञ्चालनको लागि आवश्यक पूर्वाधार निर्माणमा उपमहानगर लागिरहेको उनले बताइन् । खानेपानीको अभावका कारण महिनामा एकपटक मात्र सेवा दि“दै आएको चौकीबाट नियमित सेवा प्रदान गर्नका लागि चाडै काम सुरु गर्ने जानकारी दिइन् । सामान्य समस्या लिएर समय खर्च गर्दै बजारसम्म जानुपर्ने बाध्यतालाई हटाउनका लागि पूर्वाधार सम्पन्न स्वास्थ्य चौकी छिट्टै सञ्चालन हुने उनले बताइन् ।

उपमहानगर भएर पनि सडक सुविधाबाट समस्यामा रहेका नकौलीका जनतालाई सहज सडक सञ्जालसँग जोड्नका लागि केन्द्र सरकारले ९७ लाख रुपियाँ बजेट दिएको भन्दै अब चाडै सडकको काम हुने बताइन् । सामग्री हस्तान्तरण कार्यक्रममा हेटौंडा– १ का वडा अध्यक्ष सविन न्यौपाने, कार्यपालिका सदस्य इश्वरी रसाइली, हेटौंडा–१ का वडा सदस्य मनु दाहाल, उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत भोला चौलागार्इंको उपस्थिती रहेको थियो ।