२०८१ माघ ६, आईतबार    

सिद्धार्थ माविमा मतगणना हुने, मतपत्र ल्याइँदै

२०८१ मंसिर १६, आईतबार १७:४५ बजे


स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदको निर्वाचनपछि मतगणना कार्य सिद्धार्थ माध्यमिक विद्यालयको सभा हलमा गरिने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुले हेटौँडा उपमहानगरपालिका वडा नं. १२ वडाध्यक्ष पदको निर्वाचन सम्पन्न भएपछि मतगणना गरिने स्थान बिहीबार तोक्दै हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा मतगणना गरिने जनाएको हो ।

मुख्य निर्वाचन अधिकृत भट्टराईले सबै मतदान केन्द्रमा मतदान भई मतपेटिका प्राप्त भएपछि मतगणना गरिने मिति र समय प्रकाशन गरिने जनाउनुभएको छ । यसअघि मुख्य निर्वाचन अधिकृत एवं जिल्ला निर्वाचन व्यवस्थापन समितिको संयोजकत्वमा बसेको समितिको बैठकले सिद्धार्थ माध्यमिक विद्यालयलाई मतगणना स्थल तोक्ने निर्णय गरेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  कुल ८ हजार ५३ मतदाता रहेको यस वडामा ५ हजार ४ सय ८३ मत खसेको हो ।

यस वडामा रहेको बिष्णु ज्योति आधारभूत र प्रतिभा माविको ९ वटा केन्द्रमा मतदान भएको थियो । बिष्णु ज्योति आधारभूत विद्यालयमा ४ वटा र प्रतिभामा ५ वटा मतदान केन्द्र रहेका थिए ।