२०८० चैत्र १६, शुक्रबार    

उपाधि दाबेदार इंग्ल्यान्डको आधा दर्जन गोल

२०७९ मंसिर ५, सोमबार २१:०९ बजे

फिफा विश्वकप कतार २०२२ को उपाधि दावेदार मानिएको इंग्ल्यान्डले समूह बी को पहिलो खेलमा सानदार सुरुवात गरेको छ । खलिफा रंगशालामा भएको खेलमा इरानलाई ६-२ ले पराजित गर्दै इंग्ल्यान्डले दावेदारी प्रस्तुत गरेको हो ।

पहिलो हाफमा नै तीन गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा २ गोल थपेको थियो । इरानले खेलको अधिकांश समय डिफेन्समा व्यस्त रहेपनि काउन्टर अट्याकमा प्राप्त एक अवसरलाई भने गोलमा परिणत गर्यो । इंग्ल्यान्डका बुकायो साकाले २ तथा जुड बेलिङघम, रहिम स्टर्लिङ, ज्याक ग्रिलिस र मार्कस रासफर्डले १-१ गोल गरे । इरानका लागि मेहदी तारेमीले गरेको दुवै गोल सान्त्वना सावित भयो ।

इंग्ल्यान्डले खेलको सुरुवाती समयमा इरानले खेल्ने कुनै अवसर नै दिएन । बल पोसेसनमा एकपक्षीय पकड कायम राखेको इंग्ल्यान्डले अवसर सदुपयोग भने गर्न सकेन । सिमित समय बल राख्ने अवसर पाएको इरानले विपक्षी हाफमा बिरलै बल लगेको थियो ।

चोटका कारण भने इरानले २० औं मिनेटमा नै गोलरक्षक परिवर्तन गर्नुपरेको थियो । इंग्ल्यान्डको फ्रिकिक डिफेन्स गर्ने क्रममा गोलरक्षक अली बेइरन्भान्द आफ्नै डिफेन्डरसँग ठोक्किन पुगेका थिए । अनुहारमा चोट लागेका उनीमाथि केहि समय उपचारपछि खेल सुचारु भएको थियो । तर केहीबेरमा नै उनी ढलेपछि खेल अघि बढ्न सकेन । स्ट्रेचरमा मैदान बाहिर लागेका उनको स्थानमा होसेन होसेनी मैदान प्रवेश गरे ।

३० औं मिनेटमा इंग्ल्यान्डको निरन्तर बल राख्दै अघि बढ्ने रणनीतिमा अवसर सिर्जना भएको थियो । तर बुकायो साकाको क्रसमा कप्तान ह्यारी केनको सुरुवात प्रहार साइड नेटमा लाग्न पुग्यो । ३२ औं मिनेटमा इंग्ल्यान्डको अग्रता लिने प्रयासमा क्रसबार बाधक बन्यो । काइरान ट्रीपिएरको कर्नरमा ह्यारी मगाएरको हेडर क्रसबारमा लागेर फर्केको थियो ।

३५ औं मिनेटमा इंग्ल्यान्डले अन्तत: अग्रता लियो । जुड बेलिंघमले उत्कृष्ट टिम मुभलाई गोलमा परिणत गरे । लुक शाको अन्तिम क्रसलाई उनले हेडरमार्फत गोल गरेका थिए ।

४५ हजार दर्शक उपस्थित खलिफा रंगशालामा इंग्ल्यान्डले सेट पिसमार्फत नै खेलमा अग्रता दोब्बर पार्यो । ४३ औं मिनेटमा बुकायो साकाले गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाए । उनले मगाएरले कर्नरमा फर्काएको हेडरलाई भलीमा गोल गरे ।

पहिलो हाफमा गोलरक्षक घाइते हुँदा खर्च भएको समयलाई परिपूर्ति गर्न १४ मिनेट समय थपिएको थियो । तर इन्ज्युरी समयको पहिलो मिनेटमा इंग्ल्यान्ड अर्को गोल थप्न सफल भयो । रहिम स्टर्लिङले ह्यारी केनको पासमा गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए । इन्ज्युरी समयको ११ औं मिनेटमा इरानका अलिरेजा जाहानबक्सले गोल फर्काउने सुन्दर अवसर खेर फाले ।

दोस्रो हाफमा इरानले तीन खेलाडी परिवर्तन गरेपनि इंग्ल्यान्डले पहिलो हाफझैं बल पोसेसनमा पकड बनाइरहयो । त्यसको फलस्वरूप ६२ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गरे । उनले स्टर्लिङको पास लिएपछि पेनाल्टी क्षेत्रभित्र निकै समय लिँदै गरेको प्रहार गोल भएको थियो ।

६५ औं मिनेटमा मेहदी तारेमीले इरानका लागि गोल फर्काए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक जोर्डन पिकफर्डले जोगाउन सकेनन् ।

गोलका क्रममा इंग्ल्यान्डका डिफेन्डर ह्यारी मगाएर घाइते हुन पुगेका थिए । ७० औं मिनेटमा इंग्ल्यान्डले ४ खेलाडी परिवर्तन गरेको थियो । मैदान प्रवेश गरेको एक मिनेटमै मार्कस रासफर्डले गोल गर्न सफल भए । दुई गोल गरेका साकाको स्थानमा प्रवेश गरेका उनले केनको पासमा दुई डिफेन्डर पार गर्दै गोल गरेका थिए ।

खेलको ८९ औं मिनेटमा ज्याक ग्रिलिसले अर्को गोल थपे । उनले पेनाल्टी क्षेत्रभित्र क्यालम विल्सनको पासलाई सहजै गोलमा परिणत गरे । इन्ज्युरी समयको अन्तिम मिनेटमा सर्दार अजमौनको प्रहार क्रसबारमा लाग्दा इरानले अग्रता कम गर्न सकेन । तर त्यसलगत्तै इरानले भीएआरको सहायताले पेनाल्टी प्राप्त गर्यो । मेहदी तारेमीले पेनाल्टीमा गोल गर्दै खेलला ६-२ को स्थितिमा ल्याए ।

इंग्ल्यान्डले समूह बी मा ३ अंक जोडेको छ । यसै समूह अन्तर्गत आज मध्यरात १२:४५ बजे दोस्रो खेल हुँदैछ । उक्त खेलमा अमेरिकाले वेल्सको सामना गर्नेछ ।