२०८१ बैशाख १६, आईतबार    

विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

२०८० कार्तिक १३, सोमबार १२:४६ बजे

घरेलु टोली नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । उपाधि दाबेदार नेपालले अंक तालिकामा दुई महत्वपूर्ण अंक जोडेको हो ।

जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।

उनले टि२० आई करिअरको सातौं अर्धशतक २६ बलमा पूरा गरेका थिए । टोलीलाई जितको लागि चार रन चाहिँदा अनन्त कृष्णलाई ठूलो सर्ट खेल्ने धुनमा कुशल लङअफमा क्याच आउट भएका थिए ।

रोहित पौडेल २४ बलमा २ चौका र २ छक्कासहित ३५ रनमा क्रिजमा रहे । पहिलो बल खेलेका कुशल मल्लले छक्का हान्दै खेल सकाएका थिए ।