२०८१ बैशाख १५, शनिबार    

फ्रान्सको लिग युरोपको शीर्ष ५ बाट बाहिरियो

२०८० असार १९, मंगलबार १८:५५ बजे

फ्रान्सको शीर्ष डिभिजन लिग फ्रान्सेली लिग वन युरोपेली फुटबल संघ (यूईएफए) अन्तर्गतको लिग वरीयतामा शीर्ष ५ बाट बाहिरिएको छ ।

सन् २०२२/२३ सिजनको वरीयतामा फ्रान्स १२.५८३ अंकसहित सातौं स्थानमा रहेको थियो । बेल्जियम र नेदरल्यान्ड्सका क्लबले उच्च प्रदर्शन गर्दा फ्रान्सका क्लबले बिर्सनलायक नतिजा निकालेका थिए । वरीयतामा इंग्ल्याण्ड, इटाली, जर्मनी र स्पेन शीर्ष चार स्थानमा छन् ।

सामान्यतया युरोपको शीर्ष ५ लिग इंगित गर्दा फ्रान्सको लिगलाई पनि समावेश गर्ने प्रचलन छ । तर युरोपेली फुटबलमा कमजोर प्रदर्शन गर्दा तथ्यांकको हिसाबमा भने यसपटक त्यो भन्न नमिल्ने भएको छ ।

समग्रमा यूईएफएले पछिल्लो ५ वर्षको नतिजाको हिसाबमा लिगको वरीयता गणना गर्दै आएको छ । नयाँ सिजन सुरु भएसँगै सन् २०१८/१९ को नतिजा मापनमा पर्दैन । यस अनुसार नयाँ वरीयतामा नेदरल्यान्ड्सले शीर्ष ५ प्रवेश गर्दा फ्रान्स छैटौं स्थानमा पुग्ने भएको हो ।

फ्रान्सले निकै आशा गरेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिगमा एक पछि अर्को निराशाजनक नतिजा निकाल्नुले पनि वरीयतामा असर गरेको हो । यसबाहेक फ्रान्सका अन्य क्लबले पनि युरोपा लिग र कन्फरेन्स लिगमा सोचेजस्तो प्रदर्शन गर्न सकेका छैनन् ।