२०८१ बैशाख २६, बुधबार    

आजबाट प्रदेश खेलकुद, खेलहरु भोलीबाट

२०८० जेठ ७, आईतबार ११:५९ बजे

आज आइतबारबाट बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा दोस्रो प्रदेश खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

प्रदेशका खेल प्रतिभाको खोजीका साथै प्रदेशको टिम तयार र खेलाडीलाई नियमित अभ्यास एवम् प्रशिक्षणको वातावरण बनाउने उद्देश्यका साथ दोस्रो वर्ष पनि प्रतियोगिता हुन लागेको हो । यस वर्ष विभिन्न १३ वटा खेल विधामा ७९४ पदकका लागि २ हजार ५०२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो वर्ष ८ वटा विधामा स्पर्धा भएकोमा यस वर्ष फुटबल, भलिबल, एथ्लेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, उसु, जुडो, क्रिकेट, रग्वी, ब्याड्मिन्टन, पौडी र आईटिएफ तेक्वान्दोको खेल सञ्चालन हुने पक्कापक्की भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

एकहजार ७५ महिला र एकहजार ४२७ पुरुष गरी २ हजार ५०२ जना खेलाडीले २१९ स्वर्ण, २१९ रजत र ३५६ कास्य गरी ७९४ पदका लागि खेल्ने उनले बताए । पदक विजेता खेलाडीहरुले पदकसहित नगद पुरस्कार समेत प्राप्त गर्नेछन् । प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः जनही नगद ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । महिला तथा पुरुष फुटबल, एथ्लेटिक्स, महिला र पुरुष भलिबल, रग्वी, कराते, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, बक्सिङ र ब्याड्मिन्टनका खेलहरु हेटौंडामा हुनेछ भने उसु र जुडो काठमाडौंमा हुनेछ ।

पौडी ललितपुरमा र महिला तथा पुरुष क्रिकेट प्रतियोगिता चितवनमा हुनेछ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरु हेटौंडा आउने क्रम सुरु भैसकेको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गर्ने दोस्रो प्रदेश खेलकुद प्रतियोगितामा प्रदेशका मन्त्रीसहित खेल सम्बद्ध संघसंस्थाका प्रमुख प्रतिनिधिहरु सहभागी हुनेछन् ।

हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा मिनी रंगशालामा हुने उद्घाटनमा खेलाडीहरुको मार्चपास सहित नेपाल आर्मी र नेपाल प्रहरीको प्रस्तुती, झाँकी र राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ । प्रतियोगिताका लागि करिब ९ करोड ४२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि विभिन्न उपसमिति निर्माण गरिएको छ ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले यस प्रतियोगितालाई प्रदेश सरकारले गौरवको योजनाको रुपमा अघि बढाएको र आगामी वर्षहरुमा पनि निरन्तरता दिँदै जाने बताएकी छिन् ।