२०८१ बैशाख १६, आईतबार    

अन्तरकलेज क्रिकेट सुरु, म्यानेजमेन्ट र पर्सा विजयी

२०८० फाल्गुन २६, शनिबार १८:१८ बजे

हेटौंडामा अन्तरकलेज क्रिकेट प्रतियोगिता शनिबारबाट सुरु गरेको छ ।

हेटौंडा जेसीजको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा सुरु भएको टी–२० क्रिकेटमा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट हेटौंडा र नेशनल इन्फोटेक कलेज पर्साले विजयी सुरुवात गरेको छ ।
म्यानेजमेन्टले सिटी कलेज हेटौंडालाई सात विकेट र इन्फोटेकले सिमरा कलेज वीरगञ्जलाई ३६ रनले पराजित गरेको हो । सिटी कलेजले पहिला व्याटिङ गर्दै २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११३ रन बनाएको थियो । म्यानेजमेन्टले १५ ओभरमा तीन विकेट गुमाएर उक्त योगफल फेला पार्दै २ अंक जोड्न सफल भयो । म्यानेजमेन्टका युविन बुढाथोकी ६२ रन बनाउँदै म्यान अफ दी म्याच घोषित भए ।

दोस्रो खेलमा निर्धारित २० ओभर व्याटिङ गर्दै वीरगञ्जले नौ विकेट गुमाएर कुल ११८ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याउँदै जवाफी व्याटिङ गरेको सिमरा १९ ओभरमा दश विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो । खेलमा वीरगञ्जका मन्थन यादब म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिताको उद्घाट वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले गरेका थिए । प्रतियोगितामा मकवानपुरको हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, हेटौंडा सिटी कलेज र नारायणी कलेज, बाराको सिमरा क्याम्पस, पर्साको नेशनल इन्फोटेक र चितवनको एरोभा कलेजले सहभागिता रहेको हेटौंडा जेसीज अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही पाँच/पाँच हजार रुपैयाा पुरस्कार प्रदान गरिने उनले बताए । कार्यक्रम संयोजक सुमन अर्यालका अनुसार प्रतियोगिता अवधिभर कुल ४ लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको छ ।

हेटौंडा जेसीज सन् १९९२ का अध्यक्ष पूर्ण शाक्यको आमा अष्टकुमारी शाक्यको स्मृतिमा प्रतियोगिता वर्षेनी प्रतियोगिता हुने गरेको छ ।