२०८१ बैशाख १५, शनिबार    

सिटीविरुद्ध बेकर र जोटा नहुने

२०७९ श्रावण १३, शुक्रबार ०८:१६ बजे

लिभरपुलका जोडीद्वय एलिसन बेकर र डिएगो जोटाले शनिबार म्यानचेस्टर सिटीविरुद्ध हुने कम्युनिटी सिल्ड गुमाउने भएका छन् । गोलरक्षक बेकरले प्रि–सिजनभर पेटको समस्या बोक्दै आएका छन् भने पोर्चुगिज फरवार्ड जोटा ह्यामस्ट्रिङबाट पीडित छन् ।

लिभरपुलका व्यवस्थापक योर्गन क्लोपले दुवै खेल्न नसक्ने स्थितिमा रहेको निश्चित गरे । लेस्टरको किङ पावर रंगशालामा लिभरपुल र सिटीले खेल्दै नयाँ सिजनको यात्रा सुरु गर्दै छन् । यसको एक सातापछि प्रिमियर लिग सुरु हुनेछ । लिभरपुलले अगस्ट ६ मा प्रिमियर लिगमा आफ्नो पहिलो खेल खेल्दा ब्राजिली गोलरक्षक बेकर उपलब्ध हुने विश्वास लिइएको छ ।

जोटा लामो समयका लागि मैदानबाहिर रहनेछन् । लिभरपुल यस साता अस्ट्रियामा बन्द प्रशिक्षणमा रहँदा जोटा टोलीमा थिएनन् । ‘बेकरले हिजोभन्दा आज धेरै प्रशिक्षण गरेका थिए, त्यसैले उनी फुलहमसँगको खेलमा उपलब्ध हुनेछन् तर उनले सिटीसँगको खेल खेल्न सक्ने छैनन्,’ क्लोपले बिहीबार भने, ‘जोटा हामीसँग यहाँ छैनन्, त्यसैले उनले खेल्ने सम्भावना नै रहँदैन ।’

कतारमा तीन महिनापछि विश्वकप हुन लागेकाले यसपटकको प्रिमियर लिग चाँडै सुरु हुन लागेको छ । क्लोपले सिजन चाँडै सुरु हुन लागेकाले तयारी पर्याप्त गर्न नपाएको गुनासो पोखे । जसका कारण लिभरपुलले कम्युनिटी सिल्डलगत्तै फ्रेन्च टोली स्ट्रासबर्गसँग अर्को मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

फुलहमसँग अर्को शनिबार प्रिमियर लिगमा खेल्नुपर्ने भए पनि एफए कप र लिग कपको विजेता लिभरपुलले अर्को अभ्यास खेल खेल्न लागेको हो । ‘हामीले प्रि–सिजनलाई लम्ब्याएका छौं,’ क्लोपले भने, ‘हामी शनिबार सिटीसँग खेल्ने छौं, त्यसको अर्को दिन आइतबार स्ट्रासबर्गसँग प्रि–सिजन मैत्रीपूर्ण खेल खेल्ने छौं । त्यसपछि अर्को साता फुलहमसँग खेल्ने छौं र अर्को दिन अर्को खेल खेल्ने छौं ।’

विश्वकपका कारण व्यस्त तालिका रहे पनि प्रिमियर लिग च्याम्पियन सिटीविरुद्ध हुने खेलमा आफ्नो टोलीले प्रभाव देखाउने विश्वास क्लोपले लिए । सिटीले गत सिजन अन्तिम दिनको खेलबाट लिभरपुललाई एक अंकले पछाडि पार्दै प्रिमियर लिगको उपाधि जितेको थियो । ‘हामीलाई यो जित निकै महत्त्वपूर्ण छ । गत सिजन हामीले केही फाइनल खेलेका थियौं । यदि यो जित्ने हो भने हामीलाई राम्रो हुन्छ,’ क्लोपले भने ।