२०८१ बैशाख २६, बुधबार    

अध्यादेशप्रति पूर्वमुख्यमन्त्री पौडेलको आपत्ति

२०७८ चैत्र २३, बुधबार १७:१७ बजे

वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग्याउने र प्रतिष्ठानलाई चितवन सार्ने प्रयत्नस्वरुप अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाएका छन् ।

पौडेलले बुधबार एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफ्नो नेतृत्वको सरकारले हेटौंडा अस्पतालको स्वामित्व समेत लिने गरी प्रतिष्ठानमार्फत हेटौंडा अस्पतालको स्तरोन्नतिको कार्य गरेको दावी गर्दै अध्यादेशमार्फत अस्पताल र प्रतिष्ठानलाई छुट्याउनु गलत भएको बताए ।

मकवानपुरे जनताको स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धीहु“दै गरेको प्रतिष्ठान र अस्पताललाई टुक्राउने र कमजोर बनाउने कार्यको मकवानपुरबाटै निर्वाचित प्रदेश सभा सदस्य र मन्त्रीले समेत रोक्ने प्रयत्न नगर्नु दुखद् भएको पूर्वमुख्यमन्त्री पौडेलको भनाइ छ । ‘मकवानपुरे जनताको सेवा, सुविधामा हस्तक्षेप हुने निर्णयमा कम्तिमा मकवानपुरबाटै निर्वाचित प्रदेश सभा सदस्य र मन्त्रीले समेत विरोध नगर्नु दुखद् विषय हो ।’, पौडेलले आफू नेतृत्वको सरकारले प्रदेशकै गौरवको योजनाको रुपमा अगाडि सारेर उल्लेखनीय उपलब्धी हासिल गरेको प्रतिष्ठानलाई सार्ने, कमजोर बनाउने कार्य भएको बताए ।

मकवानपुरको कमजोर स्वास्थ्य सेवामा सुधार गर्ने, दक्ष जनशक्ति समेत उत्पादन गर्ने गरी स्थापित प्रतिष्ठानलाई कमजोर बनाउने, प्रदेशको राजधानीबाट बाहिर लैजाने प्रयत्नले मकवानपुरवासी पीडित हुने उनको दावी छ ।

प्रतिष्ठानमातहत आएपछि हेटौंडा अस्पतालमा विशेषज्ञ चिकित्सकको संख्यामा वृद्धि भएको, सघन उपचार कक्ष (आइसियु), एचडीयु वार्ड स्थापित हुनुका साथै प्रयोगशालाको क्षमता विकास गर्ने काम भएको पौडेलले उल्लेख गरे । प्रतिष्ठानको थप विकासका लागि छुट्याइएको डेढ अर्ब बजेट ५÷५ लाखका टुक्रे योजनामा खर्च गर्ने वर्तमान सरकारको निर्णय कार्यकर्ता पाल्ने योजना भएको उनले आरोप लगाए ।