२०८१ बैशाख १७, सोमबार    

मनहरी ७ अध्यक्ष कप च्याम्पियन

२०८० पौष ६, शुक्रबार १९:०९ बजे

मनहरी गाउँपालिका अध्यक्ष कपको चौथो संस्करणको उपाधी ७ नम्बर वडाले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा २ नम्बर वडालाई १-० गोल अन्तरले हराउँदै ७ ले उपाधी जितेको हो । ७ लाई उपाधी जिताउने क्रममा मनिष पौडेल नायक बने । खेलको ५४ औं मिनेटमा पौडेलले निर्णायक गोल गरेका हुन् ।

बिजेता ७ नम्बरले एक लाख रुपैयाँ प्राप्त गर्दा उपबिजेता २ नम्बरले ५० हजारमै चित्त बुझाउन बाध्य भएको छ । फाइनल खेलको म्यान अफ द म्याच र खेलको सर्वोत्कृष्ट खेलाडी मनहरी २ का अशोक मोक्तान भए । उनले म्यान अफ द म्याच बापत २ हजार र सर्वोत्कृष्ट खेलाडी भए बापत १० हजार प्राप्त गरे । अन्य विधागत उत्कृष्टको पुरस्कार बिजेता टिमकै नाममा रह्यो ।

उत्कृष्ट गोलकिपर आशिष् राउत, डिफेन्डर सुदिप सापकोटा, मिडफिल्डर कपिल मोक्तान, सर्वाधिक गोलकर्ता मनिष पौडेल र प्रशिक्षक सागर स्याङ्तान घोषित भए । उनीहरुले जनही नगद ५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको फाइनलमा यू १६ बाट खेलिसकेका मनहरीका फुटबल खेलाडी सन्तोष गोङ्बा र कृषल मोक्तानलाई नगद १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।

प्रतियोगिताको समापना मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी, अखिल नेपाल फुटबल संघ एन्फा केन्द्रीय सदस्य टिकाराम लामा, ७ नम्बर वडाका कार्यबाहक अध्यक्ष नवराज सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगिताको समापनमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।