२०८१ बैशाख १४, शुक्रबार    

शिक्षा, स्वास्थ्य र कृषिमा जोड दिँदै मनहरी

२०७९ भाद्र २२, बुधबार १७:१८ बजे

मनहरी गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा आफ्नो लगानी बढाउँदै लैजाने भएको छ । अघिल्लो पटक निर्वाचित जनप्रतिनिधिले भौतिक पूर्वाधार क्षेत्रको विकासमा दीर्घकालिन योजना विनै बजेट खर्चिदा बेरुजु दर बढ्दै गएपछि गाउँपालिकाले आफ्ना पाँचवर्षे कार्यकालमा योजनाबद्धरुपमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा आफ्नो लगानी बढाउने भएको हो ।

‘हाम्रो स्थानीय तहमा भौतिक पूर्वाधारसँगै तत्कालका लागि शिक्षा, स्वास्थ्य र कृषिमा लगानी बढाउनुपर्ने देखिन्छ । त्यसकारण त्यसलाई बढी प्राथमिकतामा राखेर हामी अगाडि बढेका छौं ।’, गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार हाँडीखोला स्वास्थ्य चौकीलाई थप सुदृढिकरण गरिने र अस्थायी भवन निर्माण गरी मनहरी अस्पतालमा भदौ महिनाबाट ओपीडी सेवा विस्तार गरिएको बताए । उनले गाउँपालिका र सामुदायिक आँखा अस्पताल हेटौंडावीच सम्झौता गरी मनहरी–७ मा दैनिक आँखा सम्बन्धी उपचार र मोतियाविन्दुको विरामीको नि:शुल्क उपचारको व्यवस्था गरिएको बताए । आर्थिक अवस्था कमजोर भएका २१ जनाको गाउँपालिकाले चालु आवमा नि: शुल्क उपचार गरिदिएको छ ।

उनले शिक्षा क्षेत्रमा सुधार गर्न आवश्यक शिक्षक दरबन्दी मिलान, भौतिक पूर्वाधारको विकासलगायतमा जोड दिइएको उनले बताए । संघीय सरकार र गाउँपालिकाका संयुक्त लगानीमा १ करोड ५ लाख रुपैयाँ बराबरको विभिन्न १४ किसिमको कृषि औजार गाउँपालिकाले वितरण गरेको छ । गाउँपालिकाले कोल्ड स्टोर निर्माण गरेर बेमौसममा तरकारी विक्री गर्ने गरी आवश्यक बजेट विनियोजन गर्ने तयारी समेत गरिरहेको छ ।