२०८१ बैशाख २७, बिहीबार    

शिवमद्वाराअवैध तरिकाले चुनढुंगा अन्यन्त्र निकासी

२०७९ जेठ २९, आईतबार १८:४२ बजे

हेटौंडामा रहेको शिवम् सिमेन्ट उद्योगले अवैध तरिकाबाट चुनढुंगा अन्यन्त्र निकासी गर्ने गरेको पाइएको छ । मकवानपुरगढी गाउँपालिकामा रहेको चुनढुंगा उत्खनन् क्षेत्रबाट ल्याएर शिवम्ले अन्यन्त्रै चुनढुंगा निकासी गर्ने गरेको हो ।खानी विभागको अनुमति बिना शिवम्ले हेटौंडा औद्योगिक क्षेत्रमा रहेको लक्ष्मी लाइम नामक पाउडर उद्योगमा चुनढुंगा निकासी गरेको छ । कानुनतः शिवम्ले सिमेन्ट उत्पादनका लागि अनुमति लिएर अन्यन्त्र उद्योगमा चुनढुंगा निकासी गर्न नपाउने खानी विभाग बताउँछ । शिवम्ले खुलेआम चुनढुंगा ओसारपसार गरिरहे पनि सरोकारवाला निकाय भने कानमा तेल हालेर बसेको छ ।

नियमनकारी निकाय नै अवैध तरिकाबाट चुनढुंगा निकासी भइरहेको थाहा पाउँदासमेत कुनै ‘एक्सन’मा नउत्रिएको हो । शिवम्ले आफ्नै चलानी प्रयोग गरी लक्ष्मी लाइम पाउडर उद्योगमा अवैध तरिकाले चुनढुंगा निकासी गरेको छ । शिवम्ले उक्त चुनढुंगा मकवानपुरगढीको ७ नम्बर वडास्थित खोटार खानीबाट वडा नम्बर २ शिखरकटेरी नाकाहुँदै हेटौंडा भएर लक्ष्मी लाइममा ल्याइपु¥याउँछ । यसबीचमा दुई वटा स्थानीय तहको कर संकलन चौकी र आधा दर्जन प्रहरी बिट पार गर्नुपर्छ । तर, शिवम्ले निर्वाध तरिकाले अवैध काम गरिरहेको हो ।

उद्योगले अवैध तरिकाबाट चुनढुंगा ओसारपसार गरेको भन्दै स्थानीयले बिरोध जनाएपनि कुनै कारबाही हुन सकेको छैन । शिवम्को अवैध काममा जनप्रतिनिधिदेखि कर्मचारी र प्रहरी प्रशासनसमेतको मिलेमतो हुन सक्ने आशंका गरिएको छ । लामो समयदेखि निर्वाध चुनढुंगा निकासी भइरहँदा पनि कुनै कारबाही नहुनुले आर्थिक लेनदेनको आशंका गरिएको हो ।काठमाडौंस्थित खानी विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले सिमेन्ट उद्योगले चुनढुंगा अन्य प्रयोजनका लागि बेचबिखन वा अनुमतिबिना निकासी गर्न नपाउने जानकारी दिए । उद्योगले अन्यत्र चुनढुंगा ओसारपसार गर्दा राजस्व नबुझाएको हकमा स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्न सक्ने उनको भनाइ छ ।

तर, खानी क्षेत्र भएको मकवानपुरगढी गाउँपालिका र उद्योग रहेको (निकासी भएको स्थान) हेटौंडा उपमहानगरपालिकाले राजश्व छली भइरहेकोप्रति कुनै चासो नदेखाएको पाइएको छ । यसअघि अवैध तरिकाबाट चुनढुंगा निकासी हुँदा जिल्ला समन्वय समितिले रोक लगाएको पाइएको छ । तर, समितिलाई पनि छलेर शिवम्ले चुनढुंगा निकासी गरिरहेको छ । एउटाको अनुमति लिएर अन्यन्त्रै चुनढुंगा ओसारपसार भइरहँदा राजस्वसमेत नबुझाएको पाइएको छ । एक उद्योगको लागि कच्चा पदार्थ आपूर्ति गर्न दर्ता भएको खानीबाट अर्को प्रयोजनको उद्योगमा कच्चा पदार्थ प्रयोग गर्न थप राजश्व बुझाउन पर्ने नियम रहेको छ ।

लक्ष्मी लाइम उद्योग पनि शिवम् सिमेन्ट उद्योगका निर्देशक रघुनन्दन मारुको आफ्नै रहेको बुझिएको छ । एउटै मालिक भएपनि चुनढुंगा अन्यन्त्र निकासी गर्न नपाइने खानी विभागले जनाएको छ । घटनाबारे मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । उनले चुनढुंगा ओसारपसारको बारे आफूलाई जानकारी नभएको बताए ।

आफूलाई शिक्षा क्षेत्रको विषयमात्रै धेरै थाहा भएको र चुनढुंगाको बिषयमा केही थाहा नभएको बताए । उनले तत्काल बुझेर प्रक्रिया अगाडि बढाउने बताए । शिवम्को खानी विभाग प्रमुख रामजी प्रसाद चौरासियासँग भने सम्पर्क हुन सकेन । घटनाबारे प्रतिक्रिया लिन उनलाई करिब पाँचपटक फोन गर्दा पनि उनको फोन उठेन ।
शिवम् सिमेन्टले विगतदेखि नै कानुन विपरितका काम गर्दै आइरहेको भन्दै पटक–पटक आलोचना भइरहेको थियो । यसअघि कानुन विपरित वन क्षेत्रमा चुनढुंगा उत्खनन् गरेको भन्दै उद्योगलाई कारबाही भएको थियो ।

अव्यवस्थितरुपमा ओभरवटन फालेर मकवानपुरगढीका एक दर्जन बस्ती र खेतीयोग्य जग्गालाई खतरामा पारेको भन्दै स्थानीय बेला–बेला आन्दोलनमा उत्रिने गरेका छन् । राजनीतिक शक्तिको आढमा शिवम् सिमेन्ट उद्योग हेपाहा प्रवृतिमा अगाडि बढेको भन्दै खानी प्रभावित बासिन्दाले गुनासो गरेका छन् ।   (साझाकुराबाट)