२०८१ माघ २८, सोमबार    

चुरियामाई सुरुङको जिम्मा हेटौंडा उपमहानगरलाई, सर्वसाधारणलाई प्रवेश शुल्क लाग्ने

२०८१ पौष ८, सोमबार १७:३० बजे

चुरियामाई सुरुङमार्गको व्यवस्थापन तथा संचालनको जिम्मा हेटौंडा उपमहानगरपालिकाले पाएको छ । उक्त सुरुङ मकवानपुरको हेटौंडा–१५ नम्वर वडामा अवस्थित चुरियामाई मन्दिरसँगै रहेको छ ।

जीर्णोद्धारको लामो पर्खाइपछि बागमती प्रदेश सरकारले आज एक औपचारिक कार्यक्रममार्फत् हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले हेटौंडा नगर प्रमुख मीना कुमारी लामालाई चाबी हस्तान्तरण गर्दै सुरुङमार्ग व्यवस्थापन तथा संचालनको जिम्मा सुम्पिएका हुन् ।

सो क्रममा बोल्दै मुख्यमन्त्री लामाले पूर्वाधार विकासलाई आर्थिक उपार्जनसँग जोडेर अघि बढाउन जरुरी रहेको उल्लेख गरे । उनले प्रतिफल आउने गरी सरकारले पूर्वाधार विकासमा लगानी गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री लामाले विकास निर्माणको कामलाई व्यवस्थित र उत्पादनमुखी बनाउन जरुरी रहेको बताउँदै संचालनको विधि नहुँदा केही आयोजनाहरू अलपत्र अवस्थामा रहेको र राखेको ठूलो लगानी प्रयोगविहीन बनेकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सभाका पूर्व सभामुख, प्रदेश सभाका सदस्यहरुलगायतको सहभागिता रहेको थियो ।

यससँगै दक्षिण एसियाकै पहिलो भनिएको उक्त सुरुङमार्ग आजबाट सर्वसाधारणले अवलोकन गर्न पाउनेछन् । प्रदेश सरकार अन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले सुरुङ पुनः निर्माण गरेपछि ८ महिनापछि खुलेको हो ।

सुरुङमार्ग अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५०, विदेशीलाई प्रतिव्यक्ति १२०, विद्यार्थीलाई प्रतिव्यक्ति २०, र ५ वर्ष मुनिका बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क गरिने जनाइएको छ ।

२०७९ साल वैशाख १९ गते जीर्णोद्धार सम्पन्न गर्ने गरी काम सुरु भएको १९८ मिटर लम्बाइको सुरुङ मार्गको पुनः निर्माणको काम सम्पन्न हुँदासम्म करिब २२५ मिटर पुगेको छ ।