बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले लगानी अनुसारका विकास योजनाहरु समयमै सम्पन्न गराउन निर्देशन दिएका छन् ।
विकास योजनाहरु समयमै सम्पन्न नहुने पुरानै समस्या दोहोरिएपछि मन्त्री काफ्लेले विभिन्न मन्त्रालय अन्तर्गतका योजनाहरको अनुगमन तथा योजना हेर्ने कार्यालयका प्रमुखहरुसँग छलफल थालेका हुन् ।
उनले सोमबार हेटौंडा–६ स्थित युवा तथा खेलकुद मन्त्रालयको निर्माणाधिन गौरीटार रंगशाला तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको हेटौंडा–१० मा रहेको दुध पाउडर प्लान्ट र प्रादेशिक कृषि थोक बजारको अनुगमन गर्दै सरकारको लगानी अनुसार काम नहुनु बिडम्बना भएको बताए ।
‘प्रदेश सरकारले लगानी गरे अनुसारको काम नहुनुमा विकासका योजनाहरु कार्यान्वयन गर्ने मन्त्रालय र कार्यालयको कमजोरी हो’ युवा तथा खेलकुद मन्त्रालयका अधिकारीहरुसँग भएको छलफलमा मन्त्री काफ्लेले भने, ‘निर्माण कम्पनीले गुणस्तरीय काम नगरे कार्वाही गर्नुप¥यो’
उनले अघि भने, ‘विकास योजनाहरु समयमै सम्पन्न गराउन के समस्या छ मलाई भन्नुहोस । योजना आयोग वा अन्तै केही कुराले काम रोकिएको छ भने म मिलाउँछु । राजनीतिक समस्या परे मै समाधान गर्छु । तर, विकासका योजनाहरु नरोक्नुस् ।’
थप बजेटका लागि आवश्यक पर्ने सबै व्यवस्था मन्त्रालयले गर्ने भन्दै मन्त्री काफ्लेले भोलिदेखि नै काम थाल्न निर्देशन दिए ।
मन्त्रालयका सचिव कृष्ण मैनालीले लगानी अनुसार काम नभए प्रदेश सरकारप्रति जनताले प्रश्न खडा गर्ने भन्दै यस्तो स्थिति सृजना हुन नदिने दायित्व कर्मचारीहरुको रहेको बताए । उनले प्रदेश सरकारलाई सफल बनाउने तर्फ गम्भीरतापूर्वक लाग्न कर्मचारीहरुलाई आग्रह समेत गरे ।