२०८० चैत्र १६, शुक्रबार    

वाग्मती प्रदेश प्रमुखद्वारा २ वटा अध्यादेश जारी

२०७९ भाद्र १, बुधबार १६:२२ बजे

वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुइवटा अध्यादेश जारी गरेका थिए ।

प्रदेश प्रमुख शर्माले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।

वाग्मती प्रदेशको प्रदेश मन्त्रिपरिषद्को २४ साउन २०७९ मा बसेको बैठकको सिफारिसमा अध्यादेश जारी गरेको थियो । साउन २६ गते प्रदेश प्रमुखको कार्यालयमा जारी गर्नका लागि पेश भएको अध्यादेश प्रमुख शर्माले बुधबार नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम जारी गरेको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९ ले प्रदेश भित्रका स्थानीय तहबाट गरिने सेवा प्रवाहको लागि आवश्यक कर्मचारी व्यवस्था गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन, कर्मचारीको नियुक्ति, बढुवा, सरुवा, विभागीय कारवाही, स्थानीय सेवा र सेवाका समूह तथा पदहरुमा एकरुपता तथा सुशासन कायम गर्न अध्यादेशले महत्वपूर्ण कानुनी आधार प्रदान गरेको छ ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पद प्रदेश निजामती सेवाको पद हुने व्यवस्था अध्यादेशले गरेको छ ।