२०८१ बैशाख १५, शनिबार    

अखाद्य वस्तु उत्पादन गर्ने अनामिका उद्योगमा शिल

२०७९ भाद्र २, बिहीबार १२:५१ बजे

जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा हेटौंडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका खाद्य उद्योगहरुको अनुगमन गरिएको छ । अनुगमनबाट खाद्य उद्योगहरु अवैध तरिकाबाट अखाद्य वस्तु उत्पादन गरेर बजार पढाउने कार्यमा संलग्न रहेको खुलेको छ । मानव तथा पशुपन्छी स्वास्थ्यमा प्रतिकुल असर पु¥याउने अखाद्य वस्तु उत्पादन गर्ने आद्योगिक क्षेत्रको दुई उद्योगलाई प्रशासनले कारबाही गरेको हो ।

जसमध्ये मसौरा उत्पादन गर्ने अनामिका खाद्य उद्योग शिल गरिएको छ । मानव स्वास्थ्यको ख्याल नै गरी अखाद्य वस्तु उत्पादन गरिरहेको पाइएपछि उद्योगमा शिल गरिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । अनामिका उद्योग आफैंमा अवैध रहेको खुलेको छ ।

२०७६ असार मसान्तपछि उद्योगको खाद्य अनुज्ञा पत्र नै नवीकरण नभएको खुलेको हो । उद्योगमा अत्याधिक फोहोर पाइएको, खाद्या पदार्थमा संक्रमणको जोखिम देखिएको उत्पादन भएर बिग्रिएको वस्तुलाई फेरि उत्पादनमा प्रयोग गरेको पाइएकोले शिल गरिएको सहायक प्रजिअ गैह्रेले जानकारी दिए । उक्त उद्योगलाई ३ दिनभित्र कागजातसहित प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको छ । उद्योगलाई थप कारबाही हुन सक्ने गैह्रले बताए ।यसैगरी, पशुपन्छीका लागि दाना उत्पादन गर्ने औद्योगिक क्षेत्रको भ्याली फिड प्रालिले पनि अवैध तरिकाबाट दाना उत्पादन गर्ने गरेको पाइएको छ ।

उद्योगले दानाको उत्पादन र उपभोग्य मिति नै नखुलाई बिक्रीका लागि बजार पठाउने गरेको खुलेको हो । भ्याली फिड प्रालिबाट १ लाख १४ हजार ७ सय ५० मुल्य बराबरको ४५ बोरा दाना नष्ट गरिएको जनाइएको छ । उपभोग्य मिति सकिएको दाना नष्ट गरिएको सहायक प्रजिअ गैह्रेले बताए ।

यसैगरी, भ्याली फिडकै १३ हजार केजीको ९ लाख २३ हजार मुल्य बराबरको २ सय ६० बोरा दाना बिक्री वितरणमा रोक लगाइएको । २ सय ६० बेरा दानामा उत्पादन र उपभोग्य मिति नखुलेकोले बिक्री वितरण गर्न रोक लगाइएको गैह्रले बताए । प्रशासनले उद्योगलाई तीन दिनभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ । गैह्रेका अनुसार भ्याली फिडलाई पनि थप कारबाही हुन सक्नेछ । बिक्रीमा रोक लगाइएको दानाको सम्बन्धमा कागजात पत्र हेरेपछि निर्णय लिइने उनले बताए ।


यसैगरी, अनुगमन टोलीले औद्योगिक क्षेत्रकै हेटौंडा दुग्ध वितरण आयोजना, खजुरीमा तथा एन्टारटिक बिस्कुट उद्योगमा अनुगमन गरेको छ । हेटौंडा दुग्ध वितरण आयोजनामा ठूलो समस्या नदेखिएको गैह्रेले जानकारी दिए ।

आयोजनामा सरसफाईमा कमजोरी देखिएको र पुरानो संरचना भएकाले झ्याल ढोकामा खिया लागेका कारण सरसफाई गर्न निर्देशन दिइएको उनले बताए । एन्टारटिक बिस्कुटमा सरसफाईमा कमजोरी दिएकोले सचेत गराइएको उनको भनाइ छ । खजुरी बिस्कुटमा कुनै समस्या नदेखिएको उनले बताए ।अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख डा. क्षितिज श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चलगायतका प्रतिनिधिको सहभागिता थियो ।

उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडाले बजारका पसलमा भन्दा पनि उद्योगहरुमै ठूलो समस्या देखिएको बताए । अनुगमनबाट उद्योगहरु नै अवैध तरिकाबाट अखाद्य वस्तु उत्पादन गरिरहेको पाइएपछि खतिवडाले बजारमा भन्दा उद्योगमा ठूलो समस्या रहेको बताएका हुन् । हेटौंडा उपमहानगरपालिकाको पहल र जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजारमा नियमित अनुगमन हुन थालेको छ ।