२०८१ बैशाख १७, सोमबार    

हेटौंडामा दैनिक थपियो ६० लाख लिटर पानी

२०८० चैत्र ९, शुक्रबार १२:०४ बजे

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले शुक्रबारदेखि हेटौंडामा वितरणका लागि दैनिक करिब ६० लाख लिटर खानेपानी थपिएको जनाएको छ ।

विश्व पानी दिवसको सन्दर्भ पारेर बोर्डले हेटौंडा उपमहानगरपालिका र गढीगाउँपालिकाको संगमस्थल सामरी खोला नजिकै समवेयल निर्माण गरी दैनिक ६० लाख लिटर खानेपानी थप गरेको । बोर्डले यसअघि हेटौंडामा दैनिक २ करोड ६२ लाख लिटर पानी वितरण गर्दै आएकोमा अब दैनिक ३ करोड २२ लाख लिटर पानी वितरण गर्नेछ ।

समवेयलको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हेटौंडामा खानेपानीको उपलब्धता पर्याप्त भइरहेको बताइन् । उनले आगमी दिनमा पानीको मुहान र रिचार्ज पोखरीमार्फत् थप खानेपानीको स्रोत बढाउँदै लैजाने बताइन् ।

खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टका अनुसार करिब २५ लाख रुपैयाँ लागतमा उक्त समबेयल निर्माण गरिएको हो । उद्घाटन कार्यक्रममा गढी गाउँपालिकाका प्रमुख दोर्जे लामा, हेटौंडाका उपमेयर राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलगायतको आतिथ्यता रहेको थियो ।