२०८१ बैशाख १४, शुक्रबार    

भीमफेदी कारागारमा ३० जना कैदीबन्दी विरामी

२०८० जेठ ८, सोमबार १८:५२ बजे

क्षेत्रीय कारागार भीमफेदीमा अज्ञात रोगबाट सोमबार ३० जना कैदीबन्दी एकैपटक विरामी परेका छन् ।

भीमफेदी गाउँपालिका–६ मा रहेको कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीमा ज्वरो आउने, काप्ने, पेट दुख्ने र शरीर कमजोर भएको महसुस हुने समस्या देखिएको कारागार प्रशासक तीर्थ पौडेलले जानकारी दिए ।

उनका अनुसार विहान १० जना विरामी भएपछि नजिकैको स्वास्थ्य केन्द्रमा उनीहरुको उपचार गरिएको थियो । ‘दिनभर विरामीको संख्या बढेपछि अहिले गाउँपालिका र स्वास्थ्य केन्द्रको सहयोगमा हामीले कारागारमै उपचार गरिरहेका छौं ।’, प्रशासक पौडेलका अनुसार २ जना डाक्टरसहित आठजना स्वास्थ्यकर्मी अहिले कैदीबन्दीको उपचार गरिरहेका छन् ।

‘केही कैदीबन्दीले मानिस नै चिन्दैनौं भनेपछि हामीले थप उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहयोग मागेका छौं । थप स्वास्थ्यकर्मीसहितको टोली यहाँ आइरहनु भएको छ ।’, उनका अनुसार केही विरामी स्लाइन दिएपछि ठिक भएका छन् ।

उक्त ब्लकमा तीन हप्ता अगाडि एकजना बन्दीको मृत्यु भएको थियो । त्यसपछि उनीहरुमा मनोसमाजिक समस्या देखा परेको उनको दावी छ । ‘विषाक्त खानाको कारण विरामी भएको होकी भनेर हामीले परीक्षण गर्यौ । तर, त्यस्तो केही पाइएन ।’, उनले अन्य ब्लकमा भने कैदीबन्दीको अवस्था सामान्य रहेको बताए । कारागारमा हाल ११०८ जना कैदीबन्दी रहेका छन् ।