२०८१ बैशाख ८, शनिबार    

कलाकारलाई चुनावी चटारो

२०७८ चैत्र १३, आईतबार १६:२३ बजे

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको चटारो सुरु भएको छ । नेतादेखि कलाकारसम्म चुनावी अभियानमा लागेका छन् । आफूनिकट सांस्कृतिक संघलाई दलहरुले चुनावी प्रचारप्रसारमा जुट्न निर्देशन दिइसकेका छन् ।

गीतसंगीत र फिल्ममार्फत पार्टीलाई भोट माग्नु र एजेन्डा जनतासमक्ष पुर्‍याउने जिम्मा दलहरुले कलाकारलाई सुम्पिएका छन् । कलाकार पनि सोहीअनुसार तयारीमा जुटेका छन् । नेताहरु घरदैलो र कलाकार चाहिं प्रचारप्रसार साम्रगी बनाउन व्यस्त छन् ।

सत्तारुढ दल कांग्रेस निकट नेपाल सांस्कृतिक संघका महासचिव शिवशंकर रिजालले पार्टीको निर्देशनअनुसार आफूहरु चुनावी तयारीमा जुटेको बताए । गीतसंगीत, वृत्तचित्र र छोटा फिल्म बनाउन पार्टीले निर्देशन दिएको उनले बताए । ‘नेताहरुले घरदैलो गर्नुहुन्छ र हामीले प्रचार सामग्री बनाउँछौं,’ रिजालले भने ।

कांग्रेसको चुनावी अभियानमा कलाकारहरु राधिका हमाल, विमल क्षेत्री, रामजी खाँण, दुर्गा रायमाझी, कविता गेलाल, दमन रुपाखेती, शिवहरि बैरागी, सुरेन्द्र केसी, हेमन्त बुढाथोकी सहभागी हुने भएका छन् ।

माओवादी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष मातृका पोखरेलले पनि चुनावलाई लक्षित गर्दै गीत रेकर्ड धमाधम भइरहेको बताए । स्टेज कार्यक्रमदेखि घरदैलोसम्म गर्न पार्टीले निर्देशन दिएको र सोहीअनुसार आफूहरु जुटेको समेत उनले बताए ।

सांस्कृतिक टोली गठन गरेर कहाँ९कहाँ कसरी परिचालन हुने भन्ने तयारीमा आफूहरु जुटेको उनले बताए । निर्वाचनकै लागि भनेर माओवादी निकट सांस्कृतिक संघले पनि छोटो फिल्म बनाउने तयारी गरेको छ ।

यसैबीच, मुख्य प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको चुनावको तयारीस्वरुप पार्टी निकट कलाकारलाई परिचालन गर्ने निर्णय गरेको छ । पार्टीको निर्देशनअनुसार कसरी अघि बढ्नेबारे यसै साता बस्ने बैठकले निर्णय गर्ने एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघका संयोजक दिनेश डीसीले बताए । विभिन्न ठाउँमा पार्टीको सम्पर्क कार्यालय स्थापना भइरहेको र प्रचार सामग्री तयार भइरहेको पनि एमाले निकट अन्य कलाकारले बताएका छन् ।

राप्रपा निकट राष्ट्रिय प्रजातन्त्र पार्टी सांस्कृतिक संघ, एकीकृत समाजवादी पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघले पनि चुनावको तयारी सुरु गरेका छन् ।