२०८१ बैशाख २४, सोमबार    

सलमान खानसहित दर्जनौं भारतीय कलाकार नेपाल आउने

२०७८ फाल्गुन ५, बिहीबार ११:०१ बजे

बलिउड स्टार सलमान खान नेपाल आउने भएका छन् ।

बैशाख ३ गते काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । ओडीसी इन्टरटेनमेन्टले सलमान खानलाई नेपाल ल्याएर कार्यक्रम गर्न लागेको जनाएको छ । ओडीसी इन्टरटेनमेन्टका सीमान्त गुरुङका अनुसार खानलाई नेपाल ल्याउने सम्पूर्ण तयारी पुरा भएको छ ।

नेपालको सुस्ताएको पर्यटन ब्यवसाय चलायमान गराउन बलिउड कलाकार नेपाल ल्याउन लागेको गुरुङले बताए । सांगीतिक कार्यक्रमका लागि सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवालगायत ठूलै टोली नेपाल ल्याउने तयारी ओडीसीको रहेको छ ।

करिब एकदशक अगाडि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौं ल्याएर भव्य कार्यक्रम गरेको ओडीसीले ०७४ फागुनमा पनि सलमान खान काठमाडौं ल्याउने तयारी गरेको थियो । तर सो समय बिभिन्न कारणले सलमान खानको कार्यक्रम रद्द भएको थियो । बैशाख ३ को कार्यक्रम भने रद्द नहुने गुरुङले जानकारी दिए ।