२०८१ बैशाख ८, शनिबार    

डोरमणिको पालामा प्रतिष्ठानमा बदनियत, ढाँटेको भन्दै आयोग रुष्ट

२०७८ चैत्र २५, शुक्रबार १६:०१ बजे

हेटौंडामा रहेको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विगतदेखिको बदनियत बाहिरिन थालेको छ । तत्कालिन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कुलपति समेत रहेको समयमा भएका बदनीयत अहिले बाहिरिन थालेको हो ।

प्रतिष्ठान हेटौंडाबाट अन्त लैजान लागेको हल्ला पौडेलको नेतृत्वमा फैलाउने काम भएपछि बाहिरिएका तथ्यले प्रतिष्ठानमा पौडेलको संरक्षणमा विगतमा भएका बदनियत बाहिरिन थालेको छ । प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगलाई गलत सूचना दिएर कपोकल्पित तरिकाले अनजान जस्तै गरी गरेको प्रचारबाजी अनुचित र जिम्मेबार बोध भन्दा अलग भएको भन्दै रुष्ट भएको छ ।

स्थापनाकालदेखि नै बोर्ड राख्न र अनावश्यक कर्मचारी भर्नातर्फ मात्रै ध्यान दिएको प्रतिष्ठानले शैक्षिक गतिविधि अघि बढाउन आवश्यक पूर्वाधारमा ध्यान नदिएको देखिएको छ । स्नातकोत्तर तहमा मेडिकल विधा अध्ययन अध्यापनका लागि न्यूनतम भौतिक एवम् प्राज्ञिक पूर्वाधार समेत नभएको अवस्थामा मेडिकल विधामा कार्यक्रम सञ्चालनका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ र नियमावली २०७७ ले निर्दिष्ट गरेका प्रावधानलाई नजरअन्दाज गरी अतिरञ्जित तरिकाले सामाजिक सञ्जाल र पत्रपत्रिकामा गलत सूचना दिएको आयोगले प्रतिष्ठानलाई फागुनमा पठाएको पत्रमा उल्लेख छ । आयोगले स्नातक तहको भर्ना भएका विद्यार्थीको अवस्था, प्रतिष्ठानको भौतिक एवं प्राज्ञिक स्थिति र निर्माणाधिन भौतिक पूर्वाधार लगायतका विषयमा अनुगमन गरेपनि स्नातकोत्तर तहको सिट निर्धारण नभएको जनाएको छ । यसको मूख्य कारणमा भौतिक पूर्वाधारलाई देखाएको छ ।

आयोगले प्रतिष्ठानलाई लेखेको पत्रमा प्रतिष्ठानको आफ्नै ३ सय शैयाको अस्पताल नभएको, प्रतिष्ठान भन्दा भिन्न जिल्लाका अस्पतालका बेड गणना गरी आप्mनो हो भन्ने मान्न सकिने अवस्था नरहेको, मकवानपुरकै प्रतिष्ठाको हो भनिएको मकवानपुरको जिल्ला अस्पताल समेत आफु प्रतिष्ठानभित्र स्पष्ट रुपमा रहन चाहेको नदेखिएको जनाएको छ । ३०० शैयाको अस्पताल सञ्चालनमा ल्याउन भवन निर्माणाधिन रहेको, अध्यापन हुने स्थान, कार्यालय र अन्य विभागीय अफिस बढिमा दुई स्थानमा १० किमी भन्दा फरक हुन नहुने गरी कम्तिमा १६ विघा जग्गामा हुनुपर्ने प्रावधान रहेकोमा विभिन्न स्थानमा छरिएर रहेको र उक्त स्थान आफ्नै नभई भाडा वा लिजमा लिएको एवम् स्नातकोत्तर तह अध्यापनका लागि हुनुपर्ने कुनै पनि फ्याकल्टीको पूर्ण व्यवस्था भई नसकेको, भविष्यमा नियुक्त गर्नेछौं भन्ने तर अन्यौलग्रस्त जानकारी आयोगका पदाधिकारीलाई दिएको उल्लेख छ । पौडेलकै कार्यकालमा निम्तिएका समस्या समस्या समाधान गर्दै प्रतिष्ठानको शैक्षिक गतिविधि बनाउन मास्टर्स तहको कक्षा मात्रै भरतपुर अस्पतालमा गर्ने र अन्य कक्षा एवम् पूर्वाधार हेटौंडामै अघि बढाउने ढंगले स्वास्थ्य मन्त्रालय लागि परेको जनाईएको छ ।

प्रतिष्ठान स्थापनापछि तत्कालिन कुलपति एवं मूख्यमन्त्री पौडेलले प्रतिष्ठानबारे निकै चर्चा गरेपनि आफ्नै संरक्षणमा त्यहाँका पदाधिकारी र कर्मचारीलाई अनियमिततामा संलग्न गरेको भन्दै प्रतिष्ठानविरुद्ध आधा दर्जन उजुरी समेत अख्तियारमा परेको छ । तर, आफ्नो कार्यकालमा भएका कमजोरीलाई वेवास्ता गर्दै पौडेलकै नेतृत्वमा अहिले प्रतिष्ठान अन्यत्र सार्न थालिएको हल्ला चलाउनु गैरजिम्मेवार काम भएको प्रतिष्ठानकै एक कर्मचारीले बताए ।
प्रतिष्ठानमा खरिदमा भएको अनियमितता, कर्मचारी नियुक्तिमा अनियमितता, पूर्वाधार निर्माणमा वेवास्ता, गलत प्रचार पौडेलकै पालमा भएपनि अहिले आफु र आफ्नो टिमको कमजोरी लुकाएर प्रतिष्ठान सार्न लागेको गलत प्रचार गरेको प्रति मकवानपुरकै राजनैतिक बृत्तमा चर्चा शुरु हुन थालेको छ । प्रतिष्ठानसम्बन्धी अध्यादेश आएपछि नबुझी विरोध पौडेल निकटहरु पनि विगतको सरकारको पालामा नै प्रतिष्ठानमा अनियमितता र धारासायी बनाउने काम भएको बुझेपछि अहिले मौन बसेका छन् ।