२०८१ भाद्र ३०, आईतबार    

सञ्चालनमा आयो हेटौँडा अस्पतालमा मनोचिकित्सा वार्ड

२०८१ जेठ १६, बुधबार १८:०३ बजे

मकवानपुरको हेटौँडा अस्पतालमा बुधबारबाट उपचारका लागि २५ शय्यासहितको मनोचिकित्सा वार्ड सञ्चालन आएको छ ।

अस्पतालको पुरानो भवनमा महिला र पुरुषलाई छुट्टाछुट्टै राख्न मिल्ने गरी मनोचिकित्सा वार्ड सञ्चालनमा आएको हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. श्रीधर अर्यालले जानकारी दिए ।

गत असारबाट हेटौँडा अस्पतालमा एकजना मनोरोग विशेषज्ञ नियुक्त भई ओपिडीमार्फत सेवा प्रवाह गर्दै आएकोमा हाल सो सेवालाई विस्तार गरी आकस्मिक र बिरामी भर्ना सेवासमेत सञ्चालनमा ल्याइएको निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. अर्यालले बताए ।

पछिल्लो समय मनोचिकित्सासम्बन्धी समस्याबाट पीडित व्यक्तिको संख्या बढ्दो क्रममा रहेको र सोही कारणबाट आत्महत्या गर्ने दर बढेकाले काउन्सिलिङ तथा उपचारको माध्यमबाट जोखिम न्यूनीकरणका लागि मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ ।

अस्पतालले बुधबारबाट मनोचिकित्सा वार्डसहित ओपिडी सेवासमेत सञ्चालनमा ल्याएको हो । यसअघि गत माघमा उद्घाटन गरिएको सो वार्डको केही संरचनागत सुधार गरेर सञ्चालनमा ल्याइएको हो । वार्डमा नर्सिङ स्टेसनको व्यवस्थासहित बिरामीहरूको रेखदेखमा समेत सहजता हुने गरी शय्या तथा कोठाहरूको व्यवस्थापन गरिएको निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. अर्यालको भनाइ छ ।

उनले वार्ड सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिबाट पाँच लाख रुपैयाँ खर्च गरेको जानकारी दिए । ओपिडी र अन्य ठाउँबाट रेफर गरिएका र भर्ना गर्नुपर्ने बिरामी उक्त वार्डमा राखेर परामर्शदाता मनोचिकित्सक डा. उद्धव लामा, डा. रितेश राउत तथा मनोरोग नर्सद्वारा बिरामीको सेवा दिन सुरु गरिएको छ । वार्ड सुरु गरिएको पहिलो दिन बुधबार नै तीनजना बिरामी भर्ना भएको अस्पतालले जनाएको छ ।