वाग्मती प्रदेशको आगामी आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
प्रदेशसभाको बिहिबार बसेको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। सरकारको नीति तथा कार्यक्रममाथि बुधबार र बिहीबार सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए ।
प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संसदमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएका थिए। प्रदेशसभाको प्रतिपक्षी दल नेकपा एमाले, विवेकशील साझा र नेपाल मजदुर किसान पार्टीका ९ जना सांसदले सरकारको नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने माग गर्दै संशोधनको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए ।
तर उक्त प्रस्ताव सदनबाट बहुमतले अस्विकृत भएको थियो। प्रतिपक्षी दलहरूले सरकारको नीति तथा कार्यक्रममा असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले सरकारको नीति तथा कार्यक्रममा जनहितकारी नयाँ योजनाहरू नआएको र परम्परागत ढंगले पुरानै योजनालाई ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
सत्तापक्षले भने सरकारले सबै वर्गलाई छुने नीति तथा कार्यक्रम ल्याएको भन्दै सरकारको बचाउ गरेको थियो। प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले जेठ १६ गते सोमबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। प्रदेशसभाको अर्का बैठक जेठ ३१ गते बुधबार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ ।